यु–१६ बैतडी छनोट : एनसिसी र युनाइटेड विजयी

  ६ घण्टा अगाडि

बैतडी, २९ वैशाख : बैतडीमा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनोट प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । जसमा निङ्गलाशैनी क्रिकेट क्लब र बैतडी युनाइटेड क्रिकेट एकेडेमी विजयी भएका छन् ।

पाटनले दिएको एक सय ३५ रनको लक्ष्य एनसिसीले १५ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । जसमा विक्रम बोहरा अर्धशतकीय पारी खेल्दै ८७ रनमा अविजित रहे । उनी प्लेयर अफ दी म्याचसमेत भए ।

पाटनका जयबहादुर नाथ र श्याम विष्टले एक–एक विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन २० ओभरमा एक ३४ रनमा अलआउट भयो । दिपेस विकले अविजित २४ रन हिर्काए ।

एनसिसीका नवीनसिंह भाटले चार विकेट लिए । अर्काे खेलमा युनाइटेडले दशरथचन्द एकेडेमीमाथि चार विकेटको जित निकालेको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

एक सय ३६ रनको विजय लक्ष्य युनाइटेडले १६ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । जसमा म्यान अफ दी म्याचसमेत भएका मुकेश चन्दले ५५ रनको योगदान गरे ।

यसअघि ब्याटिङ गरेको एकेडेमी २० ओभरमा एक सय ३५ रनमा समेटियो । यस टोलीका नीरज थापाले सर्वाधिक ३८ रन जोडे । युनाइटेडका दीपक चन्दले चार विकेट लिए ।

वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ १ गते सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका सात टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

तपाईको प्रतिक्रिया