काठमाडौँ, २९ वैशाख : किरात राई समुदायले आपसी सद्भाव, एकता र समृद्धिको कामनाकासाथ आज उभौली (साकेला) पर्व भूमिको पूजाआजा गरी मनाएका छन् ।
प्रकृतिका पूजक किराती समुदायले यस पर्वमार्फत सबैलाई संस्कार र संस्कृतिको संरक्षण तथा प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बाली लगाउनुअघि गाउँका भूमेथानमा राम्रो अन्नबाली फलोस्, समयमा पानी परोस्, रोगव्याधि नलागोस् भनी कामना गर्दै प्रकृतिको पूजा गर्ने परम्परा छ ।
उभौलीसँगै गर्मी बढ्ने भएकाले मानिस, जीव तथा जलचरसमेत बेँसीबाट लेकतिर लाग्ने हुँदा यस पर्वको नाम उभौली भन्ने गरिएको हो । आजैदेखि एक महिनासम्म भूमेथान वरपर साकेला नृत्यसमेत नाचिने गरिन्छ ।
यसैबीच, राजधानीमा बसोबास गर्दै आएका किरात राई समुदायले ललितपुरको हात्तीवन र नखिपोट तथा काठमाडौँको गोकर्ण सामुदायिक वनमा भेला भई सुप्तुलुङ (तीन चुल्हो) पूजा र साकेला सिली प्रदर्शनी गरी यो पर्व मनाएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षसहित राजनीतिक दलका नेताहरूले उभौली पर्वको उपलक्ष्यमा सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले किरात समुदायको उभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । पूर्वी नेपालको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, इलाम, धनकुटा, उदयपुरलगायतका जिल्लामा किरात समुदायको बाक्लो बसोबास रहेको राससले जनाएको छ ।
(तस्बिर : गोरखापत्र अनलाइन)