‘हामीले सामान निर्यात मात्रै होइन, नेपाली उत्पादन चीनमा बजारीकरण पनि गर्नुपर्‍यो’

  ३ घण्टा अगाडि

डिके इन्टरनेश्नल ट्रेडिङ लिमिटेडका संचालक दिलबहादुर कठायत विगत १३ वर्षदेखि चीनको व्यापारिक सहर क्वाङ्चौ (गोन्जाउ) मा व्यवसाय गरेर बसिरहनुभएको छ । सन् २०१३ मा फ्याक्ट्री खोल्ने अवधारणा सहित पहिलो चोटी चीन प्रवेश गरेका कठायतको अबको ध्याउन्न सामान निर्याततर्फ छ । पहिला उहाँ बेलायतमा छँदा महिलाका लत्ता कपडा व्यवसाय गर्नुहुन्थ्यो । त्यसबाट उहाँले थाहा पाउनुभयो कि अधिकांश कपडाहरू चीनमा उत्पादन हुने रहेछन् । त्यसो भए आफैँ उत्पादनमा किन नलाग्ने भन्दै उहाँ चीनतर्फ सोझिनुभयो । अहिले उहाँ कपडा निर्यात गर्ने कम्पनी खोलेर इङ्गल्याण्ड, युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलियातर्फ निर्यात गर्नुहुन्छ । साझाखबरका लागि विशेष अन्तर्वार्ताः

सबैभन्दा पहिला तपाइँको व्यवसायमा संलग्नता र चीनसँगको कनेक्सन (सम्पर्क) कसरी बन्यो?  

सन् २०१३ मा पहिलोचोटी चीन आएको थिएँ व्यवसायको सिलसिलामा । अहिले मेरो मुख्य ट्रेडिङ युरोप र अमेरिकामा छ ।

पहिला त बेलायतमा बसेर सानोतिनो खुद्रा व्यवसाय गर्थेँ। त्यो व्यापार सामान्यतया महिला सम्बन्धी लुगा कपडाको थियो । त्यो कपडाहरू सबै चीनबाट उत्पादन भएर आउने थाहा भयो । त्यसो भए आफैँ चीनमा गएर किन उत्पादन  नगर्ने भन्ने सोचले चीनमा प्रवेश गरेँ । सुरुमा उत्पादनतिर केन्द्रित भएँ, अहिले चाहिँ ट्रेडिङको काममा लागिरहेको छु ।

तपाइँको ब्यावसायिक कामको शैली, प्रकृति कस्तो हो?

मेरो चाहिँ ‘क्लाइन्ट बेस काम हो । युरोप, बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियातिर क्लाइन्टलाई आफ्नो कम्पनीको बारेमा, उत्पादनको बारेमा  विज्ञापन गर्छु । अनि उहाँहरूले हामीलाई यस्तो यस्तो चाहियो, यति परिमाणमा चाहियो भनेर डिमान्ड पठाउनुहुन्छ । अनि मागअनुसारको उत्पादन तयार पारेर  उहाँहरूलाई पठाउने गरिन्छ ।

चीनमा उत्पादनका लागि धेरै ठूलो लगानी चाहिन्छ होला । एकजना नेपालीले क्वाङ्च सहरमा एर लगानी गर्न गाह्रो हुँदैन ?

यस्तो छ, आफ्नै फ्याक्ट्री खोल्यो भने ठूलो लगानी लाग्छ । लगानी त लाग्छ नै । तर हामीले चाहिँ अरू फ्याक्ट्रीहरूसँग कोअर्डिनेसन गरेर, थर्ड पार्टीहरूसँग अर्डर उपलब्ध गराएर बनाउन लगाउने र हामी पठाउने गर्छौँ।

पहिला चाहिँ फ्याक्ट्री नै थियो, त्यो रन गर्न अलिकति गाह्रो भएकाले अहिले चाहिँ अरू साथीहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ ।

अहिले तपाइँ एनआरएनए, फिने लगायतका संस्थामा संलग्न हुनुहुन्छ, नेपालीका लागि चीनमा व्यापार गर्न के कस्तो सर सहयोग गर्न सक्नुहुन्छ? 

म चाहिँ एनआरएनएको सल्लाहकार छु र अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को चीनका लागि अध्यक्ष छु।

अब एनआरएनएको आफ्नो पार्ट भैहाल्यो । फिनेले चाहिँ चीनमा हामीले के गर्न सक्छौँ भने यो अन्तर्राष्ट्रिय रुपमा नै नेपाली उद्यमीहरूलाई जता जता विश्वमा छरिएर रहनुभएका उद्यमी साथीहरू हुनुहुन्छ, उहाँहरूको एउटा सञ्जाल बनाउने र त्यो सञ्जालले नयाँ स्टार्ट अप गर्न खोज्नुभएका नेपाली साथीहरूलाई चाहिँ व्यापार कसरी गर्न सकिन्छ, अथवा उहाँहरूको सामानहरू वा व्यवसायहरूलाई अरू देशमा बढाउनका लागि के गर्न सकिन्छ भनेर हामी सहयोग गर्छौँ । जस्तै अब उहाँहरूको लगानी गर्ने इच्छा छ, नेपालको कुनै व्यापारी चीनमा लगानी गर्न चाहनुभयो भने चीनको व्यापारिक बजार के कस्तो छ ? त्यो वस्तुलाई यहाँ कसरी व्यापारीकरण गर्न सकिन्छ भनेर समन्वय, गाइडेन्स, प्रमोसन गर्ने, एड्भोकेसीहरू गर्ने गर्छौँ । हाम्रो टिममा एड्भाइजर, कानुनी सल्लाहकारहरू, विभिन्न विधाका प्रोफेसनलहरू हुनुहुन्छ, यो नित्तान्त निःशूल्क हुन्छ । कसैले केही गर्न चाहनुभएको छ, जस्तो नेपालमा कसैले चीनमा जडिबुटी बेच्नुपर्यो, अथवा नेपालका हस्तकलाका सामग्री चीनमा व्यापार गर्नुपर्यो भने हामी समन्वय गरिदिन्छौँ । यहाँको मार्केट कहाँ छ भनेर देखाइदिने, व्यापारीहरूसँग सम्पर्क गराइदिने गर्छौँ । जस्तै चीनको सामान जापानमा बेच्नुपर्यो भने फिनेको त्यहाँका साथीहरूसँग समन्वय गरेर आइडिया दिन सक्छौँ ।

निकै प्रतिष्पर्धी व्यापारिक सहर क्वाङचौमा नेपालीहरूको व्यापारिक अवस्था के कस्तो छ? तीमध्ये नेपालीहरू सफल भएको, प्रतिष्ठा कमाएको कुनै व्यवसाय छ?

क्वाङ्चौमा अहिले २ सय भन्दा बढी नेपाली ट्रेडिङ कम्पनीहरू छन् । लगभग सबैले ट्रेडिङ नै गर्नुहुन्छ । चीनको सामानहरू अन्य मुलुकहरूमा निर्यात गर्नुहुन्छ । सबै जसोले राम्रै गर्नुभएको छ ।

यहाँ ट्रेडिङको पनि ठ्याक्कै अनुमान त हुँदैन किनभने यो क्लाइन्ट बेसमा व्यापार बढाउने हो । क्रेताले जति डिमान्ड गर्नुहुन्छ त्यसैगरी माथि बढ्छ । ठ्याक्क भन्न सकिँदैन । कतिले के गर्नुभएको छ, कति गर्नुभएको छैन भनेर तर कतिपय नेपालीहरूले चीनमा रेस्टुरेन्ट खोल्नुभएको छ । क्वाङ्चौमा ५/७ वटा नेपाली रेस्टुरेन्टहरू छन्, राम्रो गर्नुभएको छ । नामै लिनुपर्दा कोहीनूर रेस्टुरेन्ट, लिटिल पापा, नमस्ते लगायत धेरै रेस्टुरेन्टहरू छन् । नेपालको हस्तकलाहरू, चिया, कफी चीनमा ल्याएर बेचिराख्नुभा हुन्छ।

चीनलाई व्यापारिक अवसर नै अवसरको गन्तव्य भनिन्छ। नेपाली वस्तुको गुणस्तरीयताले चिनियाँ व्यापार पाउन सजिलो छ?

स्तरीयताको हिसाबले नेपालले अलि बढाउनै पर्ने देखिन्छ हाम्रो प्रोडक्टहरूको । उदाहरणको रुपमा ऊनी कार्पेट, हस्तकलाका सामानहरू, नेपालको जडिबुटीहरूलाई चाहिँ चीनमा तुलनात्मक बढी डिमान्ड गरिन्छ । तर हामीले यसलाई अलिकति हाइ-इण्डमा बनाएर यहाँ बेच्न सक्यो भने यसको ठूलो मार्केट छ यहाँ ।   

नेपाली उत्पादन चिनियाँ बजारमा उभ्याउँदा के कुरामा ध्यान दिनुपर्ला ? नेपाली वस्तुको महत्व झल्काउन र निर्यात बढाउन नेपालले के गर्नुपर्छ?

नेपाली सामानहरू यहाँ ल्याउँदा पहिला त क्वालिटी कन्ट्रोल गर्नुपर्छ । आफ्नो वस्तुको इमेज राख्नका लागि । नेपाल सरकारले नेपाली व्यवसायीहरू जसले नेपालमा उत्पादन गर्नुभएको हुन्छ, चिनियाँ सरकारसँग समन्वय गरेर उहाँहरूलाई राम्रो सहजीकरण गरिदिनुपर्छ । चीनले नेपालका लागि ७ हजार भन्दा बढी वस्तुमा निःशूल्क भन्सार सुविधा दिएको छ । हामीले उपयोग गर्न सकेको छैन । सरकारले पनि सपोर्ट गरिरहेको छ भनौँ तर धेरै कुराले म्याटर गर्छ । ढुवानीको कुरा, गुणस्तरको कुरा, चिनियाँ बजारमा मार्केटिङको कुरा पनि आउँछ । यो नेपाली उत्पादन हो भनेर जति देखाउनुपर्ने हो, त्यति देखाउन सकेनौँ कि जस्तो लाग्छ हामीलाई । यसका लागि प्रचार प्रसार, क्वालिटी कन्ट्रोलमा हामीले ध्यान दिनुपर्छ ।

चीन अब यति ठूलो देश, यति ठूलो जनसंख्या छ, आर्थिक बृद्धिदर छ यहाँ । हामीले नेपाली उत्पादनलाई चीनमा बजारीकरण गर्न सक्यौँ भने नेपालको लागि, नेपाली व्यवसायीहरूका लागि आर्थिक रुपमा महत्वपूर्ण योगदान हुनसक्ने जस्तो लाग्छ मलाई ।

नेपाल र चीन व्यापारिक वातावरण कस्तो छ ? महावाणिज्य दूतावास पनि खोलिएको छ, त्यसले के कस्तो सहयोग गर्दछ ?

सन् २०१७ मा क्वाङ्चौमा महावाणिज्य दूतावास स्थापना भएको हो । स्थापना कालदेखि नै यहाँको नेपाली समुदायलाई सरसहयोग गर्दै आएको छ । महावाणिज्य दूतावासले नेपालीहरूलाई आइपरेको बेला मद्दत गर्नेदेखि लिएर व्यापार वाणिज्य त उस्को काम भइ नै हाल्यो । नेपाली उत्पादनको प्रमोसन गर्नेदेखि लिएर पर्यटन प्रवर्द्र्धन गर्ने साइन्स एण्ड टेक्नोलोजी सम्बन्धी एउटा कार्यक्रम भएको थियो कन्सुलेटको तर्फबाट । यस्तो कुराहरू चाहिँ गरिरहेको हुन्छ । दुःख परेको नेपाली अथवा कानुनी समस्यामा परेका बेला महावाणिज्य दूतावासले हेरिरहेको हुन्छ । धेरै जना नेपाली चेलीहरू काम गर्न आउने, बिहे गरेर आउने तर घरेलु हिंसामा परेको अवस्थामा उद्धार गरेर धेरैजनालाई नेपाल फर्काउन सहयोग गरेको छ । राम्रो काम गर्दै आएको छ, भविष्यमा पनि गर्दै जाने होला ।

भविष्यमा नेपाल र चीनबीच व्यापारिक वातावरण कस्तो रहला ? समस्यारहित वातावरण हो कि यसला चासो नदिइएको ?

अहिलेसम्म हामी चीनसँग ठूलो व्यापार घाटामा छौँ । राम्रो छिमेकी मुलुक चीनबाट धेरै कुराहरू सिक्न सकिन्छ । हामीले यहाँबाट नेपाल सामान पठाउने मात्रै होइन कि नेपाली उत्पादन पनि चीनमा बजारीकरण गर्नुपर्यो। जस्तो म लगायत धेरै साथीहरू चीनमा ट्रेडिङ गरिरहेका छौँ, अब हामीले नेपालमा ठूला उद्योगमा लगानी गर्न नसकेपनि साना तथा मझौला उद्योगमा लगानी गरेर नेपालमै उत्पादन गरेर चीनमा बजारीकरण गर्नुपर्यो । त्यसले गर्दा देशको लागि  आर्थिक रुपमा ठूलो टेवा पुग्दछ । अब हामीले चीनबाट नेपालमा सामान मात्रै पठाएर देशको विकास हुँदैन, चीनले त आफ्नो वस्तु संसारभर पठाइरहेकै छ । मलाई  लाग्ने भनेको हामीले औद्योगिक आधुनिकीकरण गरेर, उत्पादन बढाएर त्यो सामान चिनियाँ बजारमा ल्याउन सकियो भने धेरै राम्रो हुनेछ ।

नेपाल-चीन व्यापारिक वातावरणको कुरा गर्दा त्यस्तो ठूलो समस्या भएजस्तो लाग्दैन । मालसामान त चीनबाट नेपालतर्फ लगातार गइरहेको नै छ । तर नेपालबाट चीनमा सामान आउनका लागि टेक्निकल जटिलता होला । करीब २ वर्ष अगाडिदेखि होला, नेपालबाट राँगाको मासु चीनमा भित्र्याउने प्रक्रिया चलिरहेको छ । कतिपय टेक्निकल कुराहरू होलान् जुन नेपाल सरकारले पूरा गर्न सकको छैन । भन्सार सुविधाको सदुपयोग गर्न नसक्नुको पछाडि यस्तै कारण होला । यदि हामीले राम्रो अवसरलाई छोप्न सक्ने हो भने धेरै रामो हुनेछ । नेपाल सरकारले अलिकति ध्यान दिनुपर्छ कि नेपालमा उत्पादन गराउने र निर्यात गराउने । तर सरकारको सहयोग बिना यी कुराहरू उति सजिलै सकिन्न होला ।

अन्त्यमा, हामीहरू वर्षौँदेखि चीनमा बसेर व्यापार गरिरहेका छौँ । हामीले नेपालको प्रोडक्ट चिनियाँ बजारमा ल्याउनका लागि व्यक्तिगत, कम्पनी र देशका लागि पनि टेवा पुग्छ भन्ने मलाई लाग्छ । हामी त्यसतर्फ अग्रसर होऔँ ।

तपाईको प्रतिक्रिया