चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा

  ११ घण्टा अगाडि

मेरा आँखामा चीन –

गोकर्ण भेटुवाल, रसुवा / चिनियाँ भाषा अनुवादक

‘भाषिक अज्ञानता र चपस्टिकप्रतिको अनभिज्ञता मेरा लागि चीनमा टेक्ने बित्तिकै मुख रातो पार्ने विषय बन्यो,’ चिनियाँ सिचाङ ‍‌‌(तिब्बत) सँग जोडिएको रसुवागढी नाका जुन छ, सोही रसुवा जिल्लाको विकट गाउँमा जन्मिएको मेरा लागि चीन सपनाको देश थियो ।

सन् २ हजारको दशकमा जन्मिएको हुँ । मैले देखेको के थियो भने, काठमाडौँबाट नजीकै भएर पनि भौगोलिक अवस्थितिले रसुवा अँध्यारो भीरपाखाजस्तो तर पारिपट्टिको चीन सुन्दर, सफा र चिटिक्क ।  

सानैदेखि बाहिरी संसारप्रति निकै कौतुहलता पालेर बस्थेँ । चीन आउनुभन्दा केही अगाडि आमासँगै सीमावर्ती बजार किनमेल गर्न गएको थिएँ । रसुवा र चीनको केरुङ सिमानामा स्थानीयले सजिलै आवतजावत गर्न पाउने सुविधा उपलब्ध गराइएको छ । त्यतिबेला पहिलो पटक देखेको थिएँ, चीनपट्टिको सफा सडक, सुन्दर भवनहरूले नै चीन जान पाए कस्तो होला भन्ने जिज्ञासाको बिजारोपण गरिदिएको थियो ।

सपना देख्दै गएपछि कुनै दिन पूरा हुने रहेछ । संयोगवश चीनमा साडे २ दशकदेखि बसिरहनुभएका प्रा.डा.राजीब झा मेरो जीवनमा एउटा अवसर बनेर झुल्किनुभयो । सिआन मेडिकल युनिभर्सिटीमा उहाँको चीन-नेपाल मैत्री राजीब मेडिकल प्रयोगशाला छ । उहाँको सल्लाहलाई मनन गरेपछि नै मैले चीनको प्रान्तीय छात्रवृत्तिमा अध्ययनको अवसर पाएँ । सन् २०१९ मा पहिलो पटक चीनको पुरानो राजधानी पल्लो शान्सी प्रान्तको सिआन सहरमा एक विद्यार्थीको रुपमा टेक्दा नटेक्दै जीवनका मीठा अनुभवको रुपमा लिउँ, लज्जित हुने अवसर मिलेको हो । सिआन वन ली (纹理) कलेजमा अध्ययनयात्रा थालेकै दिन मैले धेरै कुरा नयाँ नयाँ भएको महसुस गरेको थिएँ ।

चीन आइपुगेको सुरुवातमा सबै कुरा चुनौतीपूर्ण थियो । चिनियाँ भाषा नबुझिने, सडक र रहनसहन पूरै अपरिचित अनि चपस्टिक प्रयोग त झन् ठूलो चुनौती । पहिलो पटक जब क्यान्टिनमा बसेर तातो नूडल्स खाने तयारी गर्दै थिएँ । चपस्टिक समात्न सकिरहेको थिइँन । हात गुम्स्यायो अनि वरिपरि मान्छे छन् भन्ने हेक्का भएर अनुहार नै लाजले रातोपिरो भयो । छेवैका चिनियाँ साथीहरू गलल्ल हाँसे । त्यो हाँसोमा उपहास भन्दा चिनियाँ मिलनसार भाव मिस्सिएको थियो । उनीहरूले गिज्याएर मात्रै बसेनन् तर तत्काल सिकाउनका लागि अग्रसरता देखाए । चपस्टिक कसरी समात्ने, कसरी खाना उठाउने ? त्यसै दिनदेखि चिनियाँहरूको सहयोगी र मित्रवत स्वभावले मलाई प्रभावित बनायो ।

सहपाठीहरुका साथमा

चीनप्रतिको बदलिँदो छाप  

नजीकको छिमेकी मुलुक भएर पनि भाषासंस्कृतिका कारण चीन त नेपालभन्दा अलग छ र चीनलाई बुझ्न तुलनात्मक कठिन पनि छ । तर एकपटक चीन टेकेपछि मात्रै चीनप्रतिको दृष्टिकोण सच्याउन सकिन्छ । चीन नपुग्दासम्म धेरै मानिसले पश्चिमा मिडियाले देखाएअनुसार चीनलाई बुझ्दछन्, वास्तविकता त अर्कै हुनसक्छ । हुन पनि त्यस्तै देखिन्थ्यो कि, चीनप्रति पूर्वाग्रह राख्ने पश्चिमाहरूले चीनबारे सन्तुलित समाचार दिन्छन् कि दिन्नन् भन्ने नै थाहा थिएन । उसो त उतिखेर मिडियाको सीमित साधनश्रोत र प्रविधिको संकुचनका कारण त्यति मात्रै थाहा पाउन सकियो, जति मिडियाले प्रस्तुत गरे ।

समाचारमा चिनियाँहरूलाई एकलकाटे र चिसो देखाइन्थ्यो तर मैले भेटेका चिनियाँहरू त मायालु, खुला हृदयका धनी र सदैव सहयोगका लागि तत्पर हुँदा रहेछन् । विशेषगरी शान्सी प्रान्तका मानिसहरू सिधा छन्, इमान्दार छन् र आफ्ना पाहुनालाई परिवार झैँ ठान्दछन् । पहिलोपटक जब चिनियाँ साथीको घरमा खान बोलाइएको थिएँ, म अझै राम्रोसँग चिनियाँ बुझ्नसक्ने भइसकेको थिइन । तर तातो खाना र हाँसोले भरिएको त्यो क्षणले मलाई बिर्सिन नसकिने आत्मीयता दिलाएको थियो ।

शान्सीको संस्कृति गहिरो र अनौठो छ । टेराकोटा सैनिकदेखि ता यान् टावर, प्राचीन सहरको पर्खालदेखि प्राचीन सडक खाना सबै कुरामा चिनियाँ सभ्यताको गहिराइ अनुभव गर्न सकिन्छ ।

यहाँको खाना अलिकति नुनिलो र मसलेदार हुन्छ तर धेरै परिकारहरू स्वादिलो र मनपर्ने लाग्छन्— जस्तै रौच्यामो, लियाङ पी, याङ रोउ पाओ मो जस्ता व्यञ्जनहरू मेरा लागि जिब्रोमै झुण्डिने परिकार भन्दा पनि हुन्छ ।

रहनसहनप्रतिको बुझा 

जीवनशैलीको कुरा गर्दा चिनियाँ सहरहरू आधुनिक छन् । यहाँको यातायात सजिलो र सार्वजनिक सेवा उत्कृष्ट छ । नेपालको तुलनामा यहाँको जीवन तीव्र गतिमा बगिरहेको हुन्छ । म चीनमा बस्दै गर्दा अनुशासित र दक्ष बन्ने प्रयत्नमा लागिरहेको थिएँ । प्रविधिको प्रयोगले जीवन अझै सरल बनाएको छ । क्यूआर कोडबाट भुक्तानी, खाना अर्डर गर्ने एप, साझा साइकल आदि यहाँको दैनिकीको हिस्सा बनेको छ।

शान्सीमा चारवटा ऋतुचक्रलाई प्रष्टसँग महसुस गर्न सकिन्छ । वसन्तमा फूलहरू फुल्छन्, गर्मीमा सूर्य बल्छ, शरद ऋतु शीतल र रमाइलो हुन्छ अनि हिउँद ऋतुमा हिउँ पर्दछ । मेरो जन्मस्थान रसुवा भने धेरैजसो पहाडी र वर्षायुक्त हुन्छ । म सिआनको शरद ऋतु मन पराउँछु—निलो आकाश, पहेँला सुनजस्ता जिङ्कका पातहरू र शान्त वातावरण जुन मलाई कलाकारले चित्र कोर्नेखालको क्यानभास दिलाउँछन् ।

मैले जे सिकें

पाँच वर्षको चीन बसाइमा मैले चिनियाँ भाषामा स्नातक अध्ययन मात्र होइन, आफूलाई अझ राम्रोसँग बुझ्न पनि सिकेँ । मैले ज्ञान मात्र पाएको छैन बरु विभिन्न देशका साथीहरू पनि बनाएको छु । मैले सांस्कृतिक भिन्नतालाई बुझ्न, सहिष्णु बन्न, र विविधतालाई अँगाल्न सिकेको छु ।

चिनियाँ भाषा सिक्दा फाइदा नै छ । तीब्र रुपमा विकासको फड्को मारिरहेको चीनको आर्थिक विकासमा साझेदार हुन सकिन्छ । अहिले म अनुवादकको रुपमा नेपालमा व्यस्त छु । केही महिना अगाडि मात्रै मैले स्नातक गरेर फर्किएको थिएँ । विशेषतः उच्चस्तरीय राजनीतिक भ्रमणदेखि विभिन्न उल्थाका कामहरू पाउन सकिन्छ ।

चिनियाँहरूबाट केही कुरा ग्रहण गर्न सकिन्छ । जस्तो कि चिनियाँहरूमा कामप्रतिको लगनशीलता लोभलाग्दो छ । काममा पूर्णतया एकाग्र भएर लाग्ने चिनियाँको बानी मलाई राम्रो लाग्छ । आत्मविश्वास र दृढता उनीहरूमा पाउन सकिने अर्को रहस्य हो । अनि देश, भाषा संस्कृतिप्रतिको माया त अतुलनीय नै छ ।  

माओवादी नेता देब गुरुङको चीन भ्रमणमा अनुवादकको भूमिका

जब स्नातक हुँदाको अन्तिम नतीजा आयो, त्यसै रातदेखि ममा अनिद्राको समस्या देखियो । अध्ययन र भविष्यको चिन्ताले होइन, बरु यो ठाउँ छोड्नुपर्ला कि भनेर । मैले चीनलाई गहिरो माया गर्न थालिसकेको रहेछु ।

मलाई थाहा थियो भविष्यमा म जहाँ भए पनि नेपालमा, अमेरिकामा वा पुनः चीनमै—यी पाँच वर्षका सम्झनाहरू सधैं मेरो हृदयमा रहनेछन् भन्ने । हाल म मेरो मातृभूमिमा रहेर केही गर्ने प्रयास गरिरहेको छु । त्यो अल्पकालीन अनिद्रालाई चीनमै थाती राखेर ती रमाइला पललाई सिर्जनशीलतामा बदल्ने यत्न गरिरहेछु ।

मेरो यो सुखद ५ वर्षका सहयात्रीहरू र प्रत्यक्षपरोक्ष योगदान गर्नुहुने सबैप्रति सम्झना छ, ऋणी छु ।

तपाईको प्रतिक्रिया