राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

  ६ घण्टा अगाडि

लुम्बिनी, २५ वैशाख : राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँविरुद्ध राजस्व चुहावटसम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका–१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा रु २१ लाख ३८ हजार नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ । उनीहरु विरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

प्रतिवादीहरुका साथबाट बरामद रु ३४ लाख २४ हजार सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरिवाना र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफतको माग गरिएको छ ।

साथै उक्त रकम ओसारपसारमा प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएकाले जफत गरी हदैसम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

यस्तै बुटवल उपमहानगरपालिका–७ स्थित भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक मियाँविरुद्ध आजै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २०(६) बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

मियाँविरुद्ध मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्रीबिजक जारी नगरी बिक्री गरेको तथा कस्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइ बिक्रीवितरण गरेको कसुरमा मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।

मियाँविरुद्ध बिगोसहित रु तीन करोड ११ लाख ३२ हजार असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया