इजरायली आक्रमणबाट साना विमानस्थलमा ५० करोड अमेरिकी डलरको क्षति

  १५ घण्टा अगाडि

साना, २४ वैशाख : यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

इजरायली आक्रमणमा ‘गम्भीर क्षति’ भएपछि विमानस्थलले अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगन गरेको निर्देशक खालिद अल शैफले बताउनुभएको छ ।

आइतबार तेल अभिभको बेन गुरियन विमानस्थल नजिकै हुथी क्षेप्यास्त्र प्रहार भएको बदलामा इजरायलले सानास्थित विमानस्थलमा आक्रमण गरेको थियो ।

“साना विमानस्थलमा इजरायली आक्रमणका कारण करिब ५० करोड अमेरिकी डलरको क्षति भएको छ,” विमानस्थलका महानिर्देशक खालिद अल शैफले यमनी विद्रोही निकट मानिने अल–मसिराह टेलिभिजनसँग बताउनुभयो ।

“शत्रुले साना विमानस्थलका टर्मिनलहरू ध्वस्त पारिदिएको छ, जसमा सबै उपकरण र सामग्रीहरू समावेश छन्,“ उहाँले भन्नुभयो, “गोदाम पनि ‘पूर्ण रूपमा भ्वस्त’ गरिएको छ ।”

यमेनिया एयरवेजका तीन वटा विमान जलेको र छ वटामा आंशिक क्षति पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायी रुपमा विमानस्थल खोल्ने विकल्पहरु छन् र यसलाई पुनस्र्थापना गर्न र पुनः सञ्चालन गर्न हामीलाई लामो समय चाहिएको छ ।”

सन् २०२२ मा छ वर्षको अन्तरालपछि सानाको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलिएको थियो, जसले जोर्डनको राजधानी अम्मानलाई नियमित रूपमा यमनिया एयरलाइनमा नियमित सेवा प्रदान गरेको थियो ।

सानाबाट उडान भर्नेहरूमा विदेशमा आपतकालीन उपचारको खोजीमा रहेका यमनीहरू पनि सामेल छन् ।

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले एएफपीसँग भन्नुभयो, “यो आक्रमणले ‘उपचारका लागि विदेश जानुपर्ने बिरामीका लागि मानवीय पीडा बढाउनेछ’ र स्वास्थ्य सामग्री ल्याउन कठिन हुन सक्छ ।”

मङ्गलबार हुथी विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्धविरामका लागि सहमति भएको र यसले रेड सीमा जहाजको स्वतन्त्रता सुनिश्चित गर्ने मध्यस्थ ओमानले जनाएको छ ।

घोषणा गरिएको सम्झौतामा इजरायलको बारेमा उल्लेख गरिएको छैन, हुथी विद्रोहीहरूले मङ्गलबारको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।

हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया