काठमाडौँ, २३ वैशाख : नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । च्यासल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले हरायो ।
आर्मीका कासीराज राईले ह्याट्रिक गर्नुभयो । राजेन्द्र कार्कीले दुई तथा प्रदीप राजवंशीले एक गोल थप्नुभयो । आर्मीका देवसिंह धामी ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो ।
फाइनल प्रवेशसँगै आर्मी दोहोरो उपाधि जित्ने अभियानमा छ । सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो । नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्बललाई पेनाल्टी सुटआउटमा २–१ गोलले पाखा लगायो ।
गण्डकीका जोसन राई ‘प्लेयर अफ दी म्याच’ चुनिनुभयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।पेनाल्टीमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गर्नुभयो ।
विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुक्नुभयो । पुलिसका लागि सुरज बोहरा बाहेक अन्यले गोल गर्न सक्नुभएन । नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले चुक्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेताले ५० हजार रुपियाँ पाउनेछ । यस्तै तेस्रो हुने टोलीलाई २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।