तेहरान, २० वैशाख : युरेनियम संवर्द्धन गर्ने आफ्नो ‘अधिकार’ रहेको भन्दै शनिबार इरानले आफ्नो बचाउ गरेको छ ।
संयुक्त राज्य अमेरिकासँगको वार्तामा ढिलाइ भइरहेकाले पश्चिमा मुलुकले तेहरानले आणविक अस्त्रको खोजी गरिरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले आणविक अप्रसार सन्धि (एनपिटी) मा तेहरानको लामो समयदेखिको सदस्यतालाई उद्धृत गर्दै भन्नुभएको छ, “इरानलाई पूर्ण आणविक इन्धन चक्रको मालिक हुने सबै अधिकार छ।”
अराघचीले भन्नुभयो, “एनपिटीका धेरै सदस्य राष्ट्रले आणविक अस्त्रलाई पूर्णतया अस्वीकार गरेपनि युरेनियमलाई जम्मा गर्ने अभियानलाई जारी राखेका छन्।”
एनपीटी अन्तर्गत हस्ताक्षरकर्ता राष्ट्रहरुले आफ्नो आणविक भण्डारको घोषणा गरी संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) को निगरानीमा राख्नुपर्ने हुन्छ ।
संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् तर तेहरानले यसको आणविक कार्यक्रम केवल नागरिक उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानसँग भएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि इरान र संयुक्त राज्य अमेरिकाबीच गत अप्रिल १२ देखि आणविक वार्ता हुँदै आएको छ ।
मध्यस्थ ओमानले यसै साताको सुरुमा ‘व्यवस्थापकीय कारण’ देखाउँदै शनिबारका लागि तय भएको चौथो चरणको वार्ता स्थगित भएको बताएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा इरानलाई युरेनियम संवद्र्धनबाट टाढा रहन आग्रह गर्दै भन्नुभएको छ, “युरेनियम संवर्द्धन गर्ने विश्वका देशहरूसँग मात्र आणविक हतियार छ ।”
इरानले हाल युरेनियमलाई ६० प्रतिशत शुद्धतामा संवर्धित गरिरहेको छ, जुन सन् २०१५ मा संयुक्त राज्य अमेरिका र अन्य विश्व शक्तिहरूसँगको सम्झौतामा निर्धारित ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि छ।
भण्डार पश्चिमी शक्तिहरूका लागि चिन्ताको विषय बनेको छ ।
सोमबार फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले इरान ‘आणविक हतियार प्राप्त गर्ने संघारमा रहेको’ र तेहरानको गतिविधिले युरोपेली सुरक्षालाई खतरामा पारेमा संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरू पुनः लागू गर्न सकिने बताउनुभएको छ ।
इरानले सन् २०१५ को आणविक सम्झौतामा हस्ताक्षर गरेको फ्रान्सको टिप्पणीलाई ‘केवल बेतुकको तर्क’ भन्दै अस्वीकार गरेको छ ।
अराघचीले यसअघि इरानको युरेनियम संवद्र्धन गर्ने अधिकारलाई ‘सम्झौता गर्न नसकिने’ बताउनुभएको थियो ।
आइएइएका प्रमुख राफेल ग्रोसीले बुधबार भन्नुभएको छ, “इरानबाट ती सामग्रीहरु सजिलै भङ्ग गर्न सकिन्छ वा बाहिर पठाउन सकिन्छ ।
गत महिना इरानी सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले समृद्ध सामग्रीको स्थानान्तरणलाई ‘रातो रेखा’ को संज्ञा दिनुभएको थियो ।
इरानले अमेरिकी विज्ञसहित आफ्ना आणविक केन्द्रको निरीक्षण गर्न दिनुपर्ने रुबियोले बताउनुभएको छ ।
उहाँले तेहरानलाई यमनका हुथी विद्रोहीहरूलाई आफ्नो समर्थन बन्द गर्न पनि आग्रह गर्नुभयो । यसले वासिङ्टनको सहयोगी इजरायल र रेड सीको पानीजहाजलाई लक्षित गरी गरेको आक्रमणले प्रतिशोधात्मक अमेरिकी आक्रमणलाई उत्प्रेरित गरेको छ ।
तेहरानले वासिङ्टनसँगको वार्ता आणविक मुद्दा र प्रतिबन्ध फुकुवामा मात्र केन्द्रित हुनुपर्ने बताउँदै आएको छ र आफ्नो क्षेत्रीय प्रभाव र सैन्य क्षमताका विषयमा वार्ता हुन अस्वीकार गर्दै आएको छ ।
गत साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एउटा विश्वसनीय सम्झौताले ‘आणविक हतियारका लागि युरेनियम संवर्द्धन गर्ने इरानको क्षमता हटाउनुपर्ने’ र इरानको ब्यालेस्टिक क्षेप्यास्त्रको विकासलाई रोक्नु पर्ने बताउनुभएको थियो ।
अराघचीले नेतन्याहूले अमेरिकी नीतिलाई ’निर्देशित’ गरेको आरोप लगाए । (रासस/एएफपी)