‘फोटो किताब’ प्रकाशन उदाहरणीय काम : सभाध्यक्ष दाहाल

  २१ घण्टा अगाडि

काठमाडौँ, १७ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)ले ‘फोटो किताब’ प्रकाशन गरी उदाहरणीय काम गरेको बताउनुभएको छ ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै सभाध्यक्ष दाहालले नेपाली पत्रकारितामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राससले समाचारका अतिरिक्त ‘फोटो किताब’समेत प्रकाशन गरी गणतन्त्रको संरक्षण र सुदृढीकरणका पक्षमा काम गरेको बताउनुभयो ।

‘समाचार’का नाममा अफवाह फैलाइ आमजनतालाई दिग्भ्रमित बनाउन र विद्यमान शासन व्यवस्थाप्रति वितृष्णा जगाउन गणतन्त्रविरोधी पक्षधर सक्रिय भइरहेको अवस्थामा राससको भूमिका अझ बढेको उहाँको भनाइ छ । उहाँले मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको राससलाई राज्यका तर्फबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सभाध्यक्ष दाहालले भन्नुभयो, “मेरो हरेक दिन बिहान समाचार सुन्ने बानी छ, राससको समाचार भनेपछि ढुक्कका साथ विश्वास गरिन्छ । देश, जनता र सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाका पक्षमा समाचार सामग्री सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने काममा अझ सक्रिय हुनुहोस् । सङ्घीय संसद् सचिवालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा यसअघि राससमा प्रदर्शित तस्बिरहरू समेटेर प्रकाशन गरिएको फोटो किताब स्वदेश तथा विदेशमासमेत माग भइरहेकाले पुनः प्रकाशन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष झाले गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई समेटेर पुस्तक प्रकाशित गरेको उल्लेख गर्दैै पछिल्ला दिनमा देशमा केही भएको छैन भन्नेहरूका लागि रासस फोटो किताब गतिलो जवाफ भएको बताउनुभयो ।

उक्त किताबमा जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधि समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ तस्बिर समावेश छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेखरचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख लेखा अधिकृत रुद्रमणि अधिकारीको उपस्थिति थियो ।

यसअघि रासस ‘तस्बिर पुस्तक’ सभामुख देवराज घिमिरेलाई सिंहदरबारस्थित उहाकै कार्यकक्षमा आज हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया