काठमाडौँ, १७ वैशाख : वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ ।
चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन योगदान पु-याएकाले उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । शाह ६ दशकभन्दा बढीसमयदेखि चित्रकलामा समर्पित हुनुहुन्छ । उहाँका चित्रहरुमा विश्वका कला पारखी लोभिन्छन् ।
चित्रकार शाहले आफूले खासै केही काम गरे जस्तो महसुस नभएको तर यस्ता सम्मानले केही गरेको रहेछु भन्ने अनुभूति भएको प्रतिक्रिया दिनुभयो । उहाँले वानीरासँग आफूले गरेका सहकार्यको स्मरण गराउनुभयो ।
सोही समारोहमा रु एक लाख राशिकै ‘वानीरा प्रज्ञा पुरस्कार’ साहित्यकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । पाँडेका नेपालीमा ५० र अंग्रेजीमा ४० वटा कृति प्रकाशित भइसकेका छन् । उहाँले प्राप्त पुरस्कार रकम कोष बनाएर साहित्य प्रवर्द्धनका लागि लगानी गर्ने घोषाण गर्नुभयो ।
सोही समारोहमा रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ भने कवि तथा साहित्यकार कृष्ण बाउसेलाई प्रदान गरिएको छ । उहाँले नेपाली साहित्यमा वानीराको योगदान महत्त्वपूर्ण रहेको र उहाँको नाममा स्थापित पुरस्कार पाउँदा खुसी भएको बताउनुभयो ।
डा वानीरा गिरीका कविता, निबन्ध र उपन्यास गरेर तेह्रवटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । २००१ साल वैशाख १३ गते दार्जिलिङको खरसाङमा जन्मनुभएका वानीरा गिरीको २०७८ साल जेठ ९ गते निधन भएको थियो ।
उहाँको सम्झनामा श्रीमान् शङ्कर गिरीले फाउन्डेसन बनाएर सामाजिक क्षेत्रमा योगदान पु-याउँदै आउनुभएको छ ।