अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ४.६१ प्रतिशत

  ९ घण्टा अगाडि

काठमाडौँ, १७ वैशाख : चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।

कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७  खर्ब नौ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ । 

यस्तै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३ दशमलव २८ प्रतिशत र गैर कृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ ।  

चालु आर्थिक वर्षमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३ दशमलव २५ प्रतिशत, ४ दशमलव ६५ प्रतिशत र ४ दशमलव २१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव ४ प्रतिशत र ६२ दशमलव ० प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

तथ्याङ्क कार्यालयले १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाका अनुमान प्रकाशन गरिएको छ । जसमध्ये चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर १३ दशमलव ८२ प्रतिशत विद्युत तथा ग्यास क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रलाई ९ दशमलव ४३ प्रतिशतले पछ्याएर यातायात तथा भण्डार क्षेत्रले दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहेको छ । 

यस्तै, शिक्षा १ दशमलव ९८ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रको वृद्धि १ दशमलव ९९ प्रतिशतले तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ । 

कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र २५ दशमलव १६ प्रतिशत, व्यापार क्षेत्र १४ दशमलव ५५ प्रतिशतले योगदान गर्ने अनुमान गरिएको छ । अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनले ० दशमलव ४२ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रले ० दशमलव ४६ प्रतिशत तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेको कार्यालयले जनाएको छ । 

यस्तै, चालु आर्थिक वर्षमा आधारभुत मूल्यको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड, मध्यवर्ती उपभोग ३८ खर्ब ६६ अर्ब ९६ करोड र जिडिपीको २४ दशमलव ०७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने अनुमान गरिएको छ । 

त्यस्तै जिडिपीको ९३ दशमलव ४५ प्रतिशत अन्तिम उपभोग खर्च, ८ दशमलव ७४ प्रतिशतको वस्तु तथा सेवा निर्यात, ३३ दशमलव २३ प्रतिशत वस्तु तथा सेवा आयात हुने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षमा ३६ दशमलव २४ प्रतिशत कुल राष्ट्रिय वचत हुने प्रारम्भिक अनुमान गरिएको छ भने वैदेशिक रोजगारबाट २५ दशमलव ८९ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । साथै, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४ सय ९६ अमेरिकी डलर हुने अनुमान गरिएको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय १७ हुने अनुमान गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया