दमौली (तनहुँ), ३० चैत : तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गर्नुभएको छ । किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताउनुभयो ।
अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी संस्थाका सदस्यलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको हो ।
मकै बीउ वितरण तथा मकै बीउ प्रवर्द्धन कार्यक्रमअन्तरगत हाते ट्याक्टर, मकै छोडाउने उपकरण लगायतका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच थान हाते ट्याक्टर, पाँच थान मकै छोडाउने उपकरण, पाँच थान स्प्रेयर वितरण गरिएको छ । त्यस्तै ८५ प्रतिशत अनुदानमा ९७ मिटर कुलो निर्माणका लागि पाइप, ७५ प्रतिशत अनुदानमा तीन सय रोपनीका लागि मकै बीउ वितरण गरिएको उहाँले बताउनुभयो । सबै सामग्रीको मूल्य कूल रू सात लाख ३८ हजार रहेको उहाँको भनाइ छ ।
सहकारी संस्थामार्फत् मकैको बीउ सो वडाको ढाडखोला, डाडाँगाउँ, छ सय फाँट, देवीपानीटोल, देउराली टोलमा वितरण गरिएको छ ।
उत्पादनमा आधारित अनुदान वितरण गरिने
म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि रू ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको छ ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ रू ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा रू पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले लागत साझेदारी अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम कार्यन्वयन गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका उत्पादन गरिरहेका व्यावसायिक व्यक्ति तथा उत्पादनमूलक र रोजगारमूलक व्यावसायिक योजना बनाएका अर्ध बेरोजगार/बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवालाई निवेदन दिन आग्रह गरिएको अधिकारीले बताउनुभयो ।
उक्त कार्यक्रमअन्तरगत ठूला व्यवसायतर्फ कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण र आयआर्जनका लागि पशुधन खरिद, प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम गर्न चाहने कूल पुँजी रू ५० लाख वा सो भन्दा बढी भएको र कम्तीमा तीन जनालाई रोजगारी दिएको व्यक्तिलाई ५० प्रतिशत अनुदानको रकम रू पाँच लाख उपलब्ध गराइने अधिकारीले उल्लेख गर्नुभयो ।
त्यस्तै मझौला व्यवसायअन्तरगत कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम र साना व्यवसाय अन्तरगत र स्वरोजगारतर्फ कृषि पशु, पर्यटन, उद्यम लगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रमका लागि पनि लागत साझेदारीको ५० प्रतिशत अनुदान उपलब्ध गराइने अधिकारीले जानकारी दिनुभयो ।