भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिन्छ : मोदी

  चैत २१, २०८१

काठमाडौँ, २२ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताउनुभएको छ। बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताउनुभएको हो।

भेटपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्नुभएको छ, ‘‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ।’’

भेटमा मोदीले नेपाल र भारतको मित्रताका विभिन्न पक्षमा कुराकानी भएको प्रष्ट पार्नुभएको छ। मोदीले थप लेख्नुभएको छ, ‘‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं।’’

मोदीले बिमस्टेक शिखर सम्मेलनबाट केही सकारात्मक परिणाम प्राप्त भएको उल्लेख गर्नुभएको छ। उहाँले थप लेख्नुभएको छ, ‘‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’’ गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया