महेन्द्रनगर (धनुषा), ३ फागुन : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझी समयानुकूल परिवर्तन हुँदै जानुपर्ने धारणा राख्नुभएको छ ।
आज जनकपुरधाममा विद्यार्थी जनमत सङ्घले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझेर आफूलाई रुपान्तारण गर्दै जानुपर्ने बताउनुभयो ।
“मधेसी राजनीति गर्न नजानेकै कारण शासित बनेर बस्न बाध्य भएकाले शिक्षासँगै राजनीतिक परिवेश, अवस्था र गतिविधि बुझेर आवश्यकता अनुसार नेतृत्व तहलाई सुझाव दिनसक्ने गरी अभ्यास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
राजनीतिबाट कोही टाढा भाग्न नसक्ने बताउँदै अध्यक्ष राउतले हरेक मधेसका युवा विद्यार्थीले आफूलाई समयानुकूल बनाउन आवश्यकता अनुसार राजनीतिक गतिविधिसम्बन्धी जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।