दरबार हाईस्कुलमा देखाइयाे चिनियाँ र नेपाली संस्कृति विषयक वृत्तचित्र

  माघ २०, २०८१

काठमाडाैँ, २० माघ : काठमाडौँको दरबार हाईस्कुलमा आइतबार नेपाल–चीनमैत्री सम्बन्ध प्रकट हुने वृत्तचित्र देखाइएको छ । २०७२ को भूकम्पपछि ध्वस्त भएको यो स्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

शिक्षक र विद्यार्थीले चीनबाट ल्याइएका वृत्तचित्र हेरेपछि चीनबारे थाहा नपाइएका धेरै कुरा जान्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन् । दरबार हाईस्कुल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले भने, ‘वृत्तचित्रबाट नेपालको उत्तरी छिमेकी चीनको शिक्षा, संस्कृति, कला विज्ञान र विकसित चीनको पूर्वाधार पनि देख्न र बुझ्न सहयोग पुग्यो ।’

चीन र नेपालका सांस्कृतिक सम्पदा झल्किने चिनियाँ बौद्धगुफा र नेपालको बौद्धनाथ, नेपालको एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तु, हजार वर्ष अगाडिको सिल्क रोडदेखि बुद्ध ज्ञानीहरुबीचको कुराकानीमा एआई प्रविधिको प्रयोग गरिएको थियो ।

त्यस्तै तिब्बत र नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि तिब्बतमा रहेका भिक्षुहरूको जीवनशैली, नेपाल चीन सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथा पनि भिडियोहरुमा समेटिएको थियो ।

चाइना मिडिया ग्रुप नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालका अनुसार यस प्रकारका कार्यक्रमले चीन नेपालबीचको परम्परागत नाता र निकटता बुझ्न सहज हुनेछ ।

कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइयो। चीनमा यतिखेर सर्प वर्षको विदा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया