मोरेलिया, मेक्सिको, १४ कात्तिक : पश्चिमी मेक्सिकोमा मङ्गलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ ।
स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्नुहुने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो ।
आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ । क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उहाँको हत्यामा शोक व्यक्त गरेको छ ।
“मौरिसियो एक सहकर्मी भन्दा माथि हुनुहुन्थ्यो, उहाँ एक असल मित्र, प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, रेडियोले जनाएको छ । लागुऔषध तस्करीसँग सम्बन्धित हिंसाले ग्रस्त मेक्सिको पत्रकारहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक हो ।
सन् १९९४ देखि मेक्सिकोमा १५० भन्दा बढी पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले जनाएको छ । क्रुज सोलिसको हत्या अक्टोबर १ मा पदभार ग्रहण गर्नुभएको क्लाउडिया सेनबामको नेतृत्वमा रहेको सरकार गठनपछि पत्रकारको हत्या भएको यो पहिलो घटना हो । (रासस/एएफपी)