काठमाडौँ, ४ कात्तिक : पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आज डाकिएको बैठक स्थगित गरिएको छ ।
धर्मशाला सञ्चालनका विषयमा पछिल्लो समय आएका विवादका बारेमा छलफल गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आजको बैठक डाकिएको थियो । बैठक डाकिसकेपछि उच्च अदालत पाटनले शुक्रबार पशुपति गौशाला धर्मशाला अहिलेलाई मारवाडी सेवा समितिले नै सञ्चालन गर्नेगरी अल्पकालीन आदेश जारी गरेको थियो । उच्च अदालतले यही कात्तिक ५ गते सोमबार कोष र समिति दुवैलाई आफ्ना कुरा राख्नेगरी बोलाएको छ ।
काठमाडौँ जिल्ला अदालतलको फैसलाविरुद्ध समिति उच्च अदालत गएको हो । आजको परिषद् बैठकमा छलफल गर्न लागेको विषय अदालतमा पुगेपछि हाललाई बैठक स्थगित गरिएको हुनसक्ने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । कोष सञ्चालक परिषद् अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेको निर्देशनमा बैठक स्थगित गरिएको हो ।
काठमाडौँ जिल्ला अदालतले २०६० सालमा श्रीपशुपतिनाथ अमालकोट कचहरी ९हाल पशुपति क्षेत्र विकास कोष० र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा विवाद भएको थियो । कोषले काठमाडौँ महानगरपालिकाले धर्मशाला व्यवस्थापन गर्नेगरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।
कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको थियो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
श्रीपशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सम्झौता–पत्रमा सेवा समितिले वार्षिक रु ५१ हजार तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र श्रीपशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेहरूलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख छ । तर अहिले समितिले पशुपतिनाथमा छोडिएका साँढेलाई संरक्षण गर्न छोडेको आरोप लागिरहेको छ । प्रत्येक पूर्णिमामा पशुपतिनाथमा छोडिने साँढे अलपत्र भएपछि कोषले वनकालीमा नन्दी स्थल सञ्चालन गर्ने अनुमति दिएको छ ।
दूध कटुवा साँढेको संरक्षण नगरेको मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको छ । समितिले व्यावसायिक प्रयोजनकै लागि दूध उत्पादन गर्न जर्सी गाई पालेर दूध बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक रु ३५ हजारसम्म लिएर भाडामा लगाएको कोषले जनाएको छ ।






