सिरहा, २४ असोजः सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षाभन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिमपछि व्यवसाय विकासका लागि विभिन्न सामग्री प्रदान गरिएको छ ।
बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्र्तगत ‘केयर नेपाल’को आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा आज लहानमा आयोजित एक कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले रु १३ लाख ५० हजार बराबरका विभिन्न सामग्री प्रदान गर्नुभयो । ।
विभिन्न कारणले विद्यालय जानबाट बञ्चित रहेका किशोरीलाई आत्मनिर्भर तथा सशक्तीकरणका लागि तीन महिनासम्म सिलाई कटाई, दालमोट, भुजिया, ब्युटीपार्लर, कृषि, लुगाधुने सरफ र लाह चुरा बनाउनेसम्बन्धी तालिम दिइएको समग्र जनउत्थान केन्द्र लहानका उपाध्यक्ष अनिता चौधरीले जानकारी दिनुभयो । सीपमुलक तालिमपछि स्वरोजगार बनाउन व्यवसाय विकासका लागि उद्यमशील सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।
यस्ता सामग्रीमा सिलाई कटाई मेसिन, ग्यास चुलो, भाँडाकुँडा, मैदा, सरफ बनाउने कच्चा पदार्थलगायत रहेका र यिनको उपयोग भएनभएको सम्बन्धमा संस्थाले समयसमयमा अनुगमनसमेत गर्ने समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताउनुभयो ।






