ब्रसेल्स, १७ असोज : युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भन्नुभयो,“हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौँ । “हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु । निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।”
युरोपेली सङ्घको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ । यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ ।
इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दैसीमापार आफ्ना सेना पठाएको छ ।
लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिनुभएको छ ।
लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन् । (रासस/एएफपी)