१० महिनादेखि आफ्ना मागको सुनुवाइ नभएको कवाडी व्यवसायीको गुनासो

  भदौ २४, २०८१

काठमाडौं, २४ भदौः काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौँ महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् ।

विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गरिए पनि १० महिनादेखि महानगरले आफ्ना मागको सुनुवाइ नगरेको कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताले गुनासो गर्नुभयो । वर्षांैदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका कवाड व्यवसायीलाई पलायन हुनेगरी महानगरले व्यवसाय सञ्चालन गर्न नदिएको उहाँको भनाइ छ । 

“पटक पटक पत्रकार सम्मेलन गरेर हाम्रा मागका सन्दर्भमा महानगरको ध्यानाकर्षण गरायौँ, हुलाकमार्फत पनि मागपत्र पठायौँ, हालसम्म कुनै सम्बोधन भएको छैन”, अध्यक्ष गुप्ताले भन्नुभयो ।

यता महानगरले भने वातावरण फोहर गरेको, आगजनीका तथा चोरीका घटना बढेको भन्दै कवाड व्यवसायीलाई व्यवसाय गर्न दिएको छैन । 

कामपाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्र कवाड व्यवसायले कसैलाई पनि फाइदा नपुग्ने भएकाले व्यवसायीलाई महानगरभित्र व्यापार गर्न नदिने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जेसुकै भए पनि महानगरभित्र कवाड राखेर कसैलाई पनि फाइदा भएको छैन । उद्योग पनि फष्टाएको छैन, त्यसकारण महानगरभित्र कुनै पनि कवाडी पसल र डिपो राख्न नदिने महानगरले स्पष्ट निर्णय गरेको छ ।”

प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौँ महानागरपालिकाको विभिन्न वडामा कवाड व्यवसाय सञ्चालन गर्दै आएको समाजले जनाएको छ । व्यवसायीले कवाडी सामान जफत र तोडफोड गर्नेलगायत कवाड व्यवसायीमाथि गरिएको व्यवहार तत्काल रोक्न र निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न महानगरसमक्ष माग गरेका छन् ।

“हाम्रो मुख्य माग भनेको वर्षौंदेखि हामीले गर्दै आएको कवाडी व्यवसाय गर्न पाउनुप¥यो”, समाजका अध्यक्ष गुप्ताले भन्नुभयो, “कवाडका नाममा विभिन्न थरीको कर तिर्छौं तर अनावश्यक कर लगाइनु भएन, रोजीरोटी गुम्नुभएन ।”

कवाड सामग्रीमा प्लास्टिकको बोटल, बियर, वाइनआदिका बोटल, फलामका सामग्री, कागजलगायत सामग्री पर्छन् । कवाड व्यवसायीले उद्योगलाई एक महिना कच्चापदार्थ उपलब्ध ९सप्लाइ० नगर्ने हो भने उद्योग आर्थिक सङ्कटमा पर्ने अध्यक्ष गुप्ताले दाबी गर्नुभयो ।

देशमा रोजगारीको सुनिश्चित हुनुपर्ने, महानगरले कवाड व्यवसायीको मर्म र भावना बुझिदिनुपर्ने, अनावश्यक करको बोझ थप्न नुहने व्यवसायीको भनाइ छ । काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार कवाड व्यवसायी रहेका समाजले जनाएको छ ।

“फोहरबाट मोहर बनाइरहेका हामीलाई किन सास्ती दिइयो, फोहर व्यवस्थापन, वातावरण सन्तुलन, उद्योगलाई कच्चापदार्थ उपलब्ध गरिरहेका छौँ, आवश्यक कर पनि तिरिरहेका छौँ, रोजगारी सिर्जना भएको छ तर हामीलाई काठमाडौँबाट लखेट्न खोजियो”, अध्यक्ष गुप्ताले गुनासो पोख्नुभयो ।

कवाड व्यवसायमा अर्बौैं लगानी भइसकेको व्यवसायीको भनाइ छ । दश महिनामा एक दिन पनि महानगरले मागबारे कुरा गर्न नचाहेको भन्दै कवाड व्यवसायीले यो मुद्दालाई राष्ट्रिय रुपमा उठाएर उद्यमशीलताको विकास र रोजगारीको अवसर प्रदान गर्न लागिपर्ने जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै करिब एक हजार कवाड सङ्कलन गर्ने डिपो छन् । ललितपुर र भक्तपुरमा पनि उल्लेख्य सङ्ख्यामा कवाड डिपो रहेका छन् ।

उद्योगलाई कच्चापदार्थ सप्लाई गरेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीले मुलुकको अर्थतन्त्रमा पनि योगदान पु¥याउँदै आएको उनीहरुको भनाइ छ  । सङ्कलित कवाड स्वदेशी उद्योगका साथै भारतमासमेत निर्यात हुने गरेको समाजका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । “विभिन्न डिपोबाट जम्मा गरिएका सामान उद्योगलाई दिइन्छ । नेपालमा धेरै स्टिल उद्योग छन् । बियर, वाइन, ह्विस्की, प्लास्टिक उद्योग आदिले कवाडी सामान लिन्छन्”, उहाँले भन्नुभयो ।

महानगरले ज्ञापनपत्र पनि लिन नमानेर आफूहरुलाई अपहेलित गरेको कवाड व्यवसायीको गुनासो छ । कर सङ्कलन हुने, प्रदूषण नियन्त्रण तथा उद्योगलाई कच्चापदार्थ उपलब्ध गराउने गरेको कवाड व्यवसायीले बताएका छन् । आफ्ना मागको सुनुवाइका लागि कवाड व्यवसायीले माइतीघर, सुन्धारा, पुतलीसडकलगायत स्थानमा धर्ना, जुलुस र नाराबाजीसहित सङ्घर्ष गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया