नयाँ दिल्ली, ४ भदौ : भारतको राष्ट्रिय राजधानीको विभिन्न सपिङ मलहरूमा मङ्गलबार बमको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ ।
दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही घण्टामा विस्फोटक पदार्थ निस्किनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।
मेलको सूचना आउने बित्तिकै मल अधिकारीहरूले दिल्ली पुलिसलाई जानकारी दिएको दिल्ली पुलिसले बताएको छ ।
दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन् ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले डेटलाइन उल्लेख नगरिएको धम्कीपूर्ण इमेल पठाउन पनि त्यही ढाँचा पछ्याइएको देखिन्छ । धेरै मल र अन्य ठाउँहरूमा मेल पठाइएको छ । हाल अनुसन्धान भईरहेको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बमको धम्की प्राप्त भएको थियो । तर खोजीको क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम पुलिसले जानकारी दिएको छ ।
“एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको इमेल प्राप्त गरेको थियो । सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोली, डग स्क्वाड, स्वाट टोलीलगायत सबै टोली घटनास्थलमा पुगेका थिए,”एसीपी विकास कौशिकले पत्रकारलाई बताउनुभयो ।
गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेल मार्फत बम धम्कीको भ्रामक वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ ।
साथै, दिल्लीमा अगस्ट २ मा ग्रेटर कैलाश क्षेत्रको एउटा विद्यालयलाई बमले उडाउने धम्की दिएको इमेल प्राप्त भएको अधिकारीहरूले भन्नुभयो । दिल्ली पुलिसका अनुसार इमेलमा विद्यालयमा बम राखिएको भनिएको तर अनुसन्धानमा केही फेला परेको थिएन् । यस विषयमा कानुनी कारबाही थालिएको छ । (रासस/एएनआई)