काठमाडौँ, १ भदौ : साहित्यमा क्रियाशील स्रष्टाहरूले आजदेखि काठमाडौँमा ‘आफूविरूद्ध आफैँ’ अभियान सुरू गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रमबीच स्रष्टाहरूले अभियानको सुरुआत गरेका हुन् ।
अभियानले समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श, लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियान सुरू गरिएको साहित्यकार आरएम डङ्गोलले जानकारी दिनुभयो । साहित्यकारहरू प्रशंसाको भोका हुन्छन् भन्ने मान्यतालाई चिर्दै अभियान अघि बढाइएको उहाँले बताउनुभयो । अभियानका लक्ष्य र उद्देश्यबारे प्रकाश पार्दै डङ्गोलले भन्नुभयो, “यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो ।”
उहाँकानुसार अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल, सदस्यमा आरएम डङ्गोल, छविरमण सिलवाल, होमशङ्कर बास्तोला, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की हुनुहुन्छ ।
अभियान घोषणा कार्यक्रममा सदस्य बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम् जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । अभियानको पहिलो दिन आज कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कविता सङ्ग्रहमाथि प्रमुख वक्ताका रूपमा साहित्यकार डङ्गोलले समीक्षा गर्नुभएको थियो । उहाँले यसभित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिनुभयो । समीक्षक बोधराज पौडेल, होमशङ्कर बास्तोला, छविरमण सिलवाल, दीपक विहीनले कृतिमाथि टिप्पणी गर्नुभएको थियो ।