कवि ढकालले ल्याए ‘हिउँका गुच्छाहरू’

  साउन १३, २०८१

गण्डकी, १३ साउन : पोखरेली कवि शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार यहाँ आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं साहित्यकार सरुभक्तलगायतले कृतिको लोकार्पण गर्नुभयो ।

त्यस अवसरमा साहित्यकार सरूभक्तले ढकालका कवितामा दार्शनिक चेत प्रकट भएको, आफू बाँचेको समय र परिवेशलाई कवितामा अभिव्यक्त गर्न कवि सफल देखिएका बताउनुभयो ।

कृतिमाथि टिप्पणी गर्दै डा बाबुराम अधिकारीले ढकालका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको बताउनुभयो । उहाँले कवितामा अभिव्यक्त चिन्तन र दृष्टिकोण परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने धारणा राख्नुभयो ।

ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ । जम्मा ६१ वटा कविता सङ्ग्र्रहित उक्त कृति पेज टर्नर प्रालिले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया