काठमाडौँ, ३० असार : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ।उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ ।
राष्ट्रपति कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले असार ३१ गते बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई निमन्त्रण गर्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएपछि शपथ समारोह तय भएको हो ।
शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बन्नुभएको हो ।






