काठमाडौँ, २९ असार : शुक्रबार पहिरोले त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बसको खोजीमा प्रहरीले वाटर ड्रोन प्रयोग गरेको छ ।
बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला नपरेपछि प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरेको हो ।
र्याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित ४५ जना र १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ ।
बेपत्ता बस र यात्रुको खोजीमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशूली नदीमा खसेको थियो ।






