नयाँ सत्ता समीकरणबारेमा दोहोरी खेल्नुको अर्थ छैन : बस्नेत

  असार २६, २०८१

काठमाडौँ, २५ असार : ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणबारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताउनुभएको हो । 

उहाँले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाउनुभयो । उहाँले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको बताउनुभयो । उहाँले मुलुकका दुई ठुला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सीमित गर्ने प्रयासमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो ।’ मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्नेकुरा गौण विषय रहेको बताउनुभयो । 

तपाईको प्रतिक्रिया