भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण

  असार २१, २०८१

काठमाडौँ, २० असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको प्रधानमन्त्रीको पछिल्लो भेटलाई लिएर एक अनलाइनमा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को असार १८ गतेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुरुप राजीनामा नदिई संसद्मा प्रस्तुत हुनुपर्ने निर्णयबारे जानकारी दिएको सचिवालयले उक्त समाचारको खण्डन गर्दै स्पष्ट पारेको छ । उक्त भेटमा प्रधानमन्त्री दाहालले आफू संवैधानिक प्रक्रियाअनुरुप नै अगाडि बढ्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ ।

‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘‘समाचारमा भनिएजस्तो सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटपछि सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने मनस्थिति बनाएको भन्ने समाचार अत्यन्तै भ्रामक र तथ्यहीन हो,’’ सचिवालयले विज्ञप्तिमार्फत भनेको छ, ‘‘बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न सम्माननीय राष्ट्रपतिज्यूसँगको भेटअघि नै २०८१ असार १८ गते मङ्गलबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संसद्समक्ष प्रस्तुत हुनुपर्ने निर्णय लिएको थियो । पार्टी पदाधिकारीको सोही निर्णयअनुरूप भेटमा प्रधानमन्त्रीले सम्माननीय राष्ट्रपतिज्यूलाई आफू संवैधानिक प्रक्रियाअनुरूप नै अगाडि बढ्ने जानकारी गराउनुभएको थियो ।’’

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने तयारी भइरहेकाले आफूलाई साथ दिन राष्ट्रपतिसमक्ष आग्रह गरेको भन्ने समाचार झुटो, भ्रामक र निन्दनीय भएको सचिवालयले जनाएको छ । भेटमा यस प्रकारको कुनै छलफल नभएको स्पष्ट पार्दै प्रायोजित र भ्रामक समाचारको खण्डन गर्न सम्बन्धित सञ्चारमाध्यमलाई सचिवालयले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया