एआई पेटेन्ट दर्तामा चीन अग्रणी : राष्ट्रसङ्घ

  असार २०, २०८१

जेनेभा, १९ असार : अत्याधुनिक जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) को प्रयोगबाट गरिएका आविष्कारहरूको अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा चीन अग्रणी रहेसँगै यसको सङ्ख्या छ वर्षमा आठ गुणाले बढेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

सन् २०२३ सम्मको दशकमा जेनएआई आविष्कारका लागि कुल ५४ हजार पेटेन्ट दर्ता गरिएको राष्ट्रसङ्घीय विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्युआइपिओ) ले आफ्नो नयाँ प्रतिवेदनमा जनाएको छ । तीमध्ये २५ प्रतिशत गत वर्ष मात्रै दर्ता गरिएको थियो ।

कथित जेएनएआई जसमा प्रशिक्षित कम्प्युटर प्रोग्रामहरूले सरल तरिकाले सेकेन्डभरमा भिडियो, सङ्गीतदेखि कम्प्युटर कोडसम्म सबै कुरा सिर्जना गर्दछ र यो प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि रहेको डब्ल्युआइपिओका प्रमुख डारेन टाङले भन्नुभयो ।

जेनएआई पेटेन्टले अझै पनि विश्वव्यापी रूपमा सम्पूर्ण एआई पेटेन्टको छ प्रतिशत मात्र प्रतिनिधित्व गर्दछ तर यसको सङ्ख्या द्रुत गतिमा बढिरहेको छ ।

डब्ल्युआइपिओका अनुसार जेएनएआई पेटेन्टहरू सन् २०१७ पछि आठ गुणाले बढेका छन् । “यो एउटा उदीयमान क्षेत्र हो”, डब्ल्युआइपिओका पेटेन्ट एनालिटिक्स प्रबन्धक क्रिस्टोफर ह्यारिसनले जेनेभामा पत्रकारहरूलाई भन्नुभयो ।

यो प्रविधिले च्याटजिपिटी र गुगलको जेमिनी जस्ता च्याटबोटहरूको विकाससहित औद्योगिक र उत्पादनको दायरालाई फराकिलो बनाइरहेको छ । यसले औषधिहरूको विकासका लागि नयाँ अणुहरू पत्ता लगाउनुका साथै नयाँ उत्पादनको विकास सक्षम पार्ने जस्ता काम पनि गर्नसक्छ ।

डब्ल्युआइपिओको प्रतिवेदनले अहिलेसम्म अधिकांश जेएनएआई पेटेन्ट चीनबाट दायर गरिएको थियो भनी निर्धारण गरेको छ । सन् २०१४ देखि २०२३ को बीचमा त्यस देशबाट ३८ हजारभन्दा बढी जेएनएआई आविष्कार दर्ता भएको प्रतिवेदनले देखाएको छ ।

यो संयुक्त राज्य अमेरिकाभन्दा छ गुणाले बढी हो । अमेरिकामा छ हजार दुई सय ७६ पेटेन्ट दर्ता भएसँगै दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरियामा चार हजार एक सय ५५ र जापान तीन हजार चार सय नौ जेनएआई पेटेन्ट दर्ता हुने तेस्रो स्थानमा रहेको छ ।

एक हजार तीन सय ५० जेनएआई पेटेन्टहरू दर्ता गरिएको भारतमा ५६ प्रतिशतको उच्चतम औसत वार्षिक वृद्धि दर देखिएको डब्ल्युआइपिओले जनाएको छ । जेएनएआईका अधिकांश शीर्ष आवेदक चिनियाँ आविष्कार रहेका छन् । जसमा टेनसेन्ट शीर्षमा छ, त्यसपछि पिङ एन इन्स्युरेन्स, बाइदु र चाइनिज एकेडेमी अफ साइन्सेज छन् ।

त्यसैगरी, आइबीएम पाँचौँ स्थानमा रहेको देखिन्छ । चीनको अलिबाबा, दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र गुगलको मूल कम्पनी अल्फाबेट, चिनियाँ कम्पनी बाइटडान्स रहेको शीर्ष १० को सूचीमा माइक्रोसफ्टले अन्तिम स्थान लिएको छ ।

डब्ल्युआइपिओको प्रतिवेदनले अणु, जिन र प्रोटिनमा आधारित तथ्याङ्क प्रयोग गरेर जेएनएआई पेटेन्टहरू तीव्र गतिमा बढिरहेको पनि पत्ता लगाएको छ । सन् २०१४ देखि करिब एक हजार पाँच सय आविष्कारको पेटेन्ट दर्ता भएको यसको विगत पाँच वर्षमा औसत ७८ प्रतिशतले वार्षिक वृद्धि भएको प्रतिवेदनले जनाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया