आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने

  असार ०७, २०८१

काठमाडौं, ६ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिनुभएको छ । 

बिहीबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री शर्माले दिनुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस) को समाचार सेवा २४ सै घण्टा सञ्चालन गरिने बताउनुभएको छ ।

विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी आर्थिक वर्षदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।

मन्त्री शर्माले राससको २४ घण्टाको सेवाबाट आमसञ्चार माध्यम र नागरिकले समयमै सत्यतथ्य र आधिकारिक समाचार प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राससको २४ घण्टे सेवा सञ्चालन र मातृ भाषामा समाचार सम्प्रेषणका लागि सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताउनुभयो। राससले हाल बिहान ६ देखि राति ११ बजेसम्म सेवा प्रवाह गर्दै आएको छ ।

यसैगरी मन्त्री शर्माले राससको श्रव्य दृश्य सेवाको निरन्तरताका साथै मैथिली र नेवारी भाषामा समेत समाचार सेवा प्रवाह गर्न लागेको जानकारी दिनुभयो। राससले यसअघि अवधि भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ । मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया