राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न, ४० हजारद्वारा अवलोकन

  असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेबाट सुरू भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ आज सम्पन्न भएको छ ।

१८ दिनसम्म चलेको प्रदर्शनीको ४० हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रशासनिक, आर्थिक, कूटनीतिक, शैक्षिक, कानुनी क्षेत्रका प्रतिनिधि, विभिन्न विद्यालय, सङ्घसंस्था, कलेजबाट उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले स्थापनाकालदेखि नै प्रदर्शनी गर्दै आएको र यसपटक सातै प्रदेशमा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका उत्कृष्ट कलाकृतिहरूलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको लामाले बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रादेशिक ललितकला प्रदर्शनीमा एक हजारभन्दा बढी कलाकार जोडिएका र त्यसबाट छानिएका तथा अन्य गरी चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका जानकारी दिनुभयो ।

प्रदर्शनीको पूर्वसन्ध्यामा आयोजित ‘ब्यानर लेखन प्रतियोगिता’मा प्रथम, द्वितीय र तृतीय हुने कलाकारहरू क्रमशः सुरेन्द्रकुमार चौधरी, सुरेन्द्रप्रसाद चौधरी र उमेश शाह तेलीलाई प्रमाण–पत्र र नगद क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया