इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

  जेठ २९, २०८१

राष्ट्रसङ्घ, २९ जेठ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको  उहाँका प्रवक्ताले बताउनुभएको छ । 

महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पार्नु भएको छ ।

मानवीय जीवनमा हानि एउटा त्रासदी भएको जनाउँदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सबैले आ–आफ्नो दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गर्नुभयो । 

संयुक्त राष्ट्रसङ्घका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउँदै उहाँले  विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्बाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको  बताउनुभयो । 

इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई  प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना सर्त रिहाइको लागि आह्वान गरिरहेको डुजारिकले जनाउनुभयो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया