गण्डकी प्रदेशस्तरीय फुटबलमा कास्की च्याम्पियन

  जेठ २८, २०८१

कास्की, २८ जेठ : पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै कास्की च्याम्पियन बनेको हो । उपाधि विजेता कास्कीले नगद रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता तनहुँले रु एक लाख नगद पुरस्कार पायो ।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीका तर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

तनहुँका लागि दीपेश आले, शान्तबहादुर गुरुङ र आशबहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिँदा सजिन थापाको प्रहारलाई कास्कीका गोलकिपर आकाश रानाभाटले बचाउ गरे ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी तनहुँका शान्तबहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरे । कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित हुँदै जनही नगद रु पाँच हजारका दरले पुरस्कार पाए ।

प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङ, अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, सङ्घका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकी र गण्डकी प्रदेश फुटबल सङ्घको संयुक्त आयोजनामा यही जेठ २५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ बाहेक १० जिल्लाको प्रतिनिधित्व थियो ।

तपाईको प्रतिक्रिया