भारतको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

  जेठ २८, २०८१

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्कनुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शपथग्रहण कार्यक्रममा भाग लिन नेपाली कार्यदलको नेतृत्व गर्दै उहाँ आइतबार दिल्ली जानुभएको थियो । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक हुनुभएको थियो । शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया