नेपालगन्जका नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

  जेठ २८, २०८१

खजुरा (बाँके), २८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपदमा खोज तथा उद्धारसम्बन्धी चारदिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको छ ।

रुखबिरुवा ढलेर वा भित्ता भत्किएको बेला रुख, भित्ता र टिनका पाता काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर ल्याउने र घाइतेहरुको उद्धार तथा उपचारका लागि अस्पताल पुर्याउनेलगायत विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद समितिका संयोजक समीरप्रताप सिंहले बताउनुभयो । बाँकेको शम्शेरगन्जस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा आयोजित तालिममा २० जना नगर प्रहरी सहभागी थिए । 

उनीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामग्री निर्माण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त सशस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए । नेपालगन्जमा विपदका बेला नगर प्रहरीलाई दक्ष तथा सतर्क बनाइ तयारीका साथ राख्न तालिम प्रदान गरिएको नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया