ब्रसेल्स, बेल्जियम, २७ जेठ : युरोपियन सङ्घको चुनावको अन्तिम दिन आइतबार फ्रान्स, जर्मनी लगायत २१ वटा युरोपेली देशहरूमा मतदान सुरु भएको छ ।
युक्रेनको युद्ध, अमेरिका–चीन प्रतिद्वंद्विताले चिह्नित विश्वव्यापी व्यापार र औद्योगिक तनाव, जलवायु आपतकाल आदि समस्या सामना गरिरहेको यो महाद्वीपका लागि यो एक महत्वपूर्ण समय हो ।
मतदानको नतिजाले ब्लकको अर्को संसद र अप्रत्यक्ष रूपमा शक्तिशाली युरोपेली आयोगको संरचना निर्धारण गर्नेछ जसले आगामी पाँच वर्षमा युरोपेली सङ्घका नीतिहरूलाई आकार दिन मद्दत गर्नेछ ।
“युरोपेली संसदले आफ्नो सही भूमिका खेल्नका लागि यो निर्वाचन महत्त्वपूर्ण छ, यसले सबै युरोपेली नागरिकहरूको दैनिक जीवनमा भूमिका खेल्नुपर्छ“, मतदाता कोस्टास कारागियानिसले एथेन्सको मतदान केन्द्रबाट भन्नुभयो ।
आगामी युरोपेली संसदको ७ सय ७० सिटमध्ये अधिकांशमा मध्यमार्गी मुख्यधाराका दलहरूले कब्जा गर्ने प्रक्षेपण गरिएको छ तर जनमत सर्वेक्षणले बलियो अति दक्षिणपन्थीले यस धारलाई रूढीवादतर्फ धकेल्दा उनीहरू कमजोर हुने अनुमान गरेको छ । (रासस/एएफपी)






