सरकारले समृद्ध नेपालको अभियानलाई तीव्रताका साथ अगाडि बढाएको छ : सञ्चारमन्त्री

  जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक न्याय, सुशासन र समृद्ध नेपालको अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक अभियन्ता भेला’को आज समापन गर्दै सरकारका प्रवक्ता शर्माले व्यवस्था प्राप्तिको आन्दोलन पूरा भइसकेको बताउँदै आर्थिक समृद्धिको अभियानलाई तीव्र रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अभियानको कुरा हामीले संविधानमा उल्लेख गरेका छौँ, पार्टीका विधानमा व्यवस्था गरेका छौँ र हाम्रो सिङ्गो पार्टी त्यो अभियानको दिशामा अगााडि बढ्दै छ ।”

उहाँले समृद्ध नेपालको परिकल्पना गर्दै गर्दा दलित, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, उत्पीडित समुदायलगायत सबैभन्दा तल्लो तहमा रहेको समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकारलाई सबैभन्दा पहिला सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

“हामीले सामाजिक सङ्घसंस्था वा कुनै पनि सङ्घ–सङ्गठन सञ्चालन गर्दा देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ, देश र जनतालाई केन्द्रविन्दुमा राखेर गतिविधिहरु सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “जब जनता समृद्ध हुन्छन्, त्यसपछि मात्रै देश समृद्ध हुन्छ ।”

सामाजिक अभियानमा पार्टीको कार्यदिशा, पार्टीले अपनाउने नीति, कार्यनीति, देशको संविधान र कानुनअनुरुप अगाडि बढ्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य शर्माको भनाइ थियो ।

मन्त्री शर्माले समृद्ध नेपालको सपनामा पूरा गर्नका लागि सबैभन्दा पहिला उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्दै उत्पादनमा सूचना र प्रविधिलाई सँगै जोडेर लैजानुपर्ने बताउनुभयो । “सदियौँदेखि दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्या कानुनी रुपमा त समाधान भएको छ, तर अहिले पनि व्यावहारिक रुपमा समाधान हुन सकेको छैन, त्यसको व्यावहारिक रुपमै समाधान गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

दुई दिनसम्म सञ्चालन गरिएको भेलाले ‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको रक्षा एवम् सुदृढ गर्ने विषयलाई सर्वोपरि राख्ने र राष्ट्रिय एकतालाई त्यसको मूल आधार बनाउने’ लगायत नौबुँदे ‘काठमाडौँ घोषणा–२०८१’ पत्र जारी गरी सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया