लोकसभा चुनाव परिणाम : आधाभन्दा बढी सिटमा एनडिए अगाडी

  जेठ २२, २०८१

नयाँ दिल्ली, २२ जेठ : भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८ सिटमा अगाडि रहेका छन् ।

काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४ सिटमा, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबै आफ्नो निर्वाचन क्षेत्र क्रमश राय–बरेली र वनारसमा अगाडि हुनुहुन्छ । राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहनुभएको छ ।

उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४ सिटमा अगाडि रहेको छ ।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए ।

आन्ध्र प्रदेशको १ सय ७५ विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधानसभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया