अन्तिम मतदानको दिन हृदयघातका कारण ३३ मतदानमा खटिएका कर्मचारीको मृत्यु

  जेठ २०, २०८१

लखनऊ, २० जेठ : देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताउनुभएको छ ।

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ ।

सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताउनुभयो । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।

“मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया (१८ हजार अमेरिकी डलर) को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ”, रिन्वाले पत्रकारहरूलाई बताउनुभयो । जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भई मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् ।

“बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो“, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउदै भन्नुभयो ।

बढ्दो तापक्रमसँग भारत अपरिचित छैन । तर जलवायु परिवर्तनले तातो छालहरू लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया