गर्मी बढेपछि विद्यालय बन्द, खोप अभियान स्थगित

  जेठ १४, २०८१

भरतपुर (चितवन), १४ जेठ : गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

खोप अभियान स्थगित
अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताउनुभयो । सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया