विश्व शान्ति शिखर सम्मेलनमा सहभागी हुन विश्वभरका नेतालाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह

  जेठ १३, २०८१

किएभ (युक्रेन), १३ जेठ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार विश्वभरका नेताहरूलाई जुन १५ देखि सुरु हुने विश्व शान्ति शिखर सम्मेलनमा भाग लिन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा राष्ट्रपति जेलेन्स्कीले स्विट्जरल्यान्डसँग मिलेर युक्रेनले शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको बताउनुभयो ।

“क्षति पु-याउनु उनीहरूका लागि आनन्दको कुरा हो । रूस जीवन जलाउने, सहर र गाउँहरू नष्ट गर्ने, मानिसहरूलाई विभाजन गर्ने र युद्धको माध्यमबाट राष्ट्रिय सीमाहरू मेटाउने उद्देश्य भएका मनिसले सञ्चालन गर्छ भन्ने आम विश्व समुदायको बुझाई छ । यस्तो कुनै राष्ट्र छैन जसले यस्तो युद्धलाई एक्लै, सहयोगबिना रोक्न सक्छ । हामीलाई विश्व नेताहरूको संलग्नता आवश्यक छ”, युक्रेनी राष्ट्रपतिले भन्नुभयो ।

आफूसँग संवाद र वार्ताको सन्दर्भमा रूसले दिएको झूट्ठा अपेक्षाहरूको ठूलो अनुभव रहेको उहाँले बताउनुभयो । “ठिक यही कारणले रूसले धोका दिन नसक्ने नेताहरूको विश्वव्यापी शान्ति शिखर सम्मेलन आवश्यक छन् । स्विट्जरल्यान्डसँग मिलेर हामी यो शिखर सम्मेलनको तयारी गरिरहेका छौं । जुन १५ देखि सुरु हुने यो सम्मेलनमा ८० भन्दा बढी देशहरूले उपस्थितिको लागि आश्वासन दिएका छन्”, उहाँले भन्नुभयो ।

राष्ट्रपति जेलेन्स्कीले विश्वभरका नेताहरूलाई शिखर सम्मेलनमा सामेल हुन आमन्त्रित गर्नुका साथै शान्ति सम्झौता अघि बढाउन आफ्नो नेतृत्व देखाउन आग्रह गर्नुभएको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया