बङ्गलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै, लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

  जेठ १३, २०८१

नयाँदिल्ली, १३ जेठ : बङ्गलादेशले बङ्गालको खाडीमा बनेको शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

आँधीले आइतबार मध्यराततिर बङ्गलादेश र भारतको पश्चिम बङ्गालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बङ्गालको सागर टापु र बङ्गलादेशको खेपुपारा क्षेत्रमा एक सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ ।

बङ्गलादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले मुलुकको तटीय क्षेत्रमा चार हजार आँधी आश्रयबाट मानिसहरूलाई निकाल्न स्वयंसेवकहरूलाई खटाइएको बताउनुभयो । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ ।

भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घन्टाका लागि बन्द रहनेछ । बङ्गलादेशले दक्षिणपूर्वी सहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्द गरेको छ ।

बङ्गलादेशी अधिकारीहरूले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि निलम्बित गरेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजहरूलाई घाटहरूबाट गहिरो समुद्रमा लैजान सुरु गरेका छन् ।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बङ्गालको खाडीमा यो पहिलो आँधी हो । भारतको पश्चिम बङ्गाल राज्यका तटीय जिल्लाहरूमा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ । करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बङ्गाल र बङ्गलादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान गरिएको छ ।

यस्तो आँधीले रुखहरू उखेल्न सक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनहरूलाई ठूलो क्षति पुर्याउन सक्ने विज्ञप्तिमा बताइएको छ । भारतका तटहरू प्राय आँधीहरूबाट प्रभावित हुन्छन् तर जलवायु ढाँचामा भएको परिवर्तनका कारण आँधी थप तीव्र भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूका लागि तयारी अत्यावश्यक भएको छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया