दिल्लीस्थित अस्पतालमा सात नवजात शिशुको अगलागीमा परी मृत्यु

  जेठ १३, २०८१

नयाँदिल्ली, १३ जेठ : ‘दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गर्नुभएको छ । “दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ,” राष्ट्रपति मुर्मूले एक्स (ट्वीटर) मा लेख्नुभएको छ । उहाँले भन्नुभएको छ, “शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस् । यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । केजरीवालले एक्समा लेख्नुभएको छ, “बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ । यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं।” मुख्यमन्त्री केजरीवालले भन्नुभयो, “सरकार र प्रशासनका अधिकारीहरू घटनास्थलमा नै घाइतेहरूको उपचारमा व्यस्त छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ र यो लापरबाहीका लागि जो कोही पनि जिम्मेवार छ, उसलाई छुट दिइने छैन ।”

दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै कडा कदम चाल्ने आश्वासन दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले स्वास्थ्य सचिवलाई वर्तमान स्थितिको बारेमा अद्यावधिक गर्न भनेको छु । दोषीलाई छुट दिइने छैन । लापरवाही गर्ने वा कुनै पनि गलत कार्यमा संलग्न हुनेलाई कडाभन्दा कडा सजायको हुनेछ ।” अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो । तीमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ । केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

तपाईको प्रतिक्रिया