हमास प्रतिनिधिद्वारा इजरायलसँग नयाँ वार्ताको प्रस्ताव अस्वीकार

  जेठ १३, २०८१

गाजा, १३ जेठ : प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले इजरायली सञ्चारमाध्यमले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गर्नुभएको अल जजिराले जनाएको छ ।

अल जजीरा अरेबीसँगको हालैको टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

हमासले युद्धविराम प्रस्तावलाई पहिले नै स्वीकार गरिसकेको र इजरायलले भने प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै उहाँले भन्नुभयो, “हामीलाई वार्ताको नयाँ प्रस्ताव आवश्यकता छैन तर बन्धक फिर्ता र युद्धविरामलगायत इजरायली सेना गाजाबाट फर्किने शर्त वार्ताका प्राथमिकता हुनुपर्छ । ”

यस महिनाको सुरुमा हमासले इजरायलले प्रस्ताव अपर्याप्त ठानेको भएपनि सात महिनाको गाजा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो । इजरायली सञ्चारमाध्यममा आएका रिपोर्टहरूले पेरिसमा मध्यस्थकर्ताहरूसँगको छलफलपछि गाजा बन्दी मुक्तिसम्बन्धी सम्झौताको लागि नयाँ वार्ताको सुझाव दिएको अल जजिराले जनाएको छ ।

इजरायली गुप्तचर प्रमुख डेभिड बार्नियाले सीआईएका निर्देशक बिल बन्र्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग नयाँ वार्ताका लागि सहमति जनाउनुभएको थियो । यद्यपि, कुनै पनि अस्थायी युद्धविराम सम्झौताले इजरायलसँगको शत्रुताको समाधान भविष्यसम्मका लागि प्रशस्त नहुने चिन्ता प्यालेष्टिनी रक्षा मन्त्रालयले व्यक्त गरेको छ ।

हमास अस्थायी युद्धविरामका समाधान गर्नुको सट्टा युद्धको स्थायी अन्त्यमा जोड दिँदै आफ्नो पक्षमा अडिग रहेको छ । इजरायलले भने हमासको पूर्ण विघटनसहित आफ्ना उद्देश्यहरू प्राप्त गरेपछि मात्र द्वन्द्व अन्त्य गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

अन्तर्राष्ट्रिय न्याय अदालतको रफाह आक्रमण रोक्ने आदेश र अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली नेताहरूविरुद्ध गिरफ्तारी आदेश जारी गरेको जस्ता हालसालैका घटनाक्रमले बढ्दो कूटनीतिक गतिरोधलाई प्रतिबिम्बित गर्दछ । आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई मान्यता दिने निर्णयले इजरायलको कूटनीतिक चुनौतीलाई थप जटिल बनाएको छ ।

यी घटनाक्रमबीच युद्धविराम हासिल गर्ने र गाजासँगको सीमा पुन: सञ्चालन गर्ने प्रयासहरूले गति प्राप्त गरेको छ ।

वासिङ्टनले युद्धविराम र मानवीय सहायताको पहुँचका लागि मार्गहरू खोज्न युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जसहित इजरायली अधिकारीहरूसँग छलफल गरेको छ । कायरोले युद्धविराम वार्ताको मध्यस्थता र कैदी आदानप्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । इजिप्ट गाजामा मानवीय सङ्कट कम गर्ने उदेश्यप्रति कटिबद्द छ ।

गाजामा बन्दी बनाइएका कैदीहरूको रिहाइ सुरक्षित गर्न कारबाहीको माग गर्दै तेल अभीभमा व्यापक सार्वजनिक आक्रोश र विरोधका बावजुद प्रधानमन्त्री नेतान्याहुको सरकारले हमाससँग सम्झौता गर्न अझै मध्यस्थता गरेको छैन । आलोचकहरूले सरकारको समाधानमा पुग्ने प्रतिबद्धतामाथि प्रश्न उठाउनुका साथै वार्ताको माध्यमबाट समाधान गर्नमा यसको निष्कपटतामाथि शङ्का व्यक्त गरेको अल जजिराले रिपोर्ट गरेको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया