‘मानवअधिकारका विषयमा कसैसँग सम्झौता हुन सक्दैन’

  जेठ ११, २०८१

काठमाडौँ, ११ जेठ : एम्नेस्टी इन्टरनेसनलका महासचिव डा आग्नेस कालामार्डले मानवअधिकारका आधारभूत विषयमा कसैसँग कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ ।

भमणका क्रममा नेपाल आइपुग्नुभएकी महासचिव डा कालामार्डले आज एम्नेष्टी इन्टरनेशनल नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि विश्वव्यापी रुपमा एम्नेष्टीले काम गर्दैआएको बताउनुभयो । उहाँले आज बिहान प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरेको जानकारी गराउनुहुँदै नेपालको सङ्क्रमणकालीन न्यायका विषयमा नेताहरुसँग एम्नेष्टीको सरोकार राखेको बताउनुभयो ।

महासचिव डा कालामार्डले यही जेठ ३ गते श्रीलङ्काबाट दक्षिण एसियाको भ्रमण सुरु गर्नुभएको थियो । श्रीलङ्कामा उहाँले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकको सम्झनामा जेठ ५ गते मुल्लिभाइक्कलमा आयोजना गरिएको स्मृति कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

दक्षिण एसियाको भ्रमणका क्रममा डा कालामार्डले मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनमा देखिएको विश्वव्यापी खतरा, दक्षिण एसियाको मानवअधिकार अवस्था, जलवायु परिवर्तन र मानवअधिकारमा यसको प्रभाव, मानवअधिकारका सवालमा सरकारको दोहोरो मापदण्ड, ऐतिहासिक चुनावी वर्षमा आर्टिफिसियल इन्टेलिजेन्सको नियमन र व्यवस्थापन, बिग टेक कम्पनीको जवाफदेहितालगायत विषयमा जानकारी लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया