पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

  जेठ ११, २०८१

लिस्बन (पोर्चुगल), ११ जेठ : विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५ सय ६८औँ जन्मजयन्ती ‘पोर्चुगल’मा मनाइएको छ । लिस्वनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा बिहीबार धुमधामका साथ बुद्धजयन्ती मनाइएको हो ।

त्यसअवसरमा राजधानी लिस्बनमा भगवान् गौतम बुद्धको विशेष पूजाआराधना गरिनाका साथै बृहत् शोभायात्रा निकालिएको थियो । रोसियोस्थित प्रासा दी कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको बाक्लो सहभागिता रहेको थियो ।

बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा, सांस्कृतिक वेशभूषा र बाजागाजासहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए । शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो ।

त्यसक्रममा नेपालको पर्यटन प्रवदर््धन गर्ने तथा बुद्धसम्बन्धी जानकारी दिने अङ्ग्रेजी र पोर्चुगिज भाषामा लिखित बुद्धभूमि नेपाल, नेपालको धार्मिक पर्यटन र बुद्धसम्बन्धी जानकारीमूलक पर्चा वितरण गरिएको थियो ।

शोभायात्रापछि ‘मार्तिम मुनिज पार्क’मा आयोजित कोणसभामा पोर्चुगिज बौद्ध धर्मगुरु गिर्मे लामा र नेपाली लामा फुरीले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा सङ्क्षिप्त प्रवचनसमेत दिनुभएको थियो ।

कोणसभामा नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, महावाणिज्यदूतावासका कार्यालय प्रमुख छविलाल बगालेलगायतले बोल्दै बुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताउनुभयो । यसअघि नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको संयोजनमा मार्तिम मुनिज पार्कमा पोर्चुगिज तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजाआरधना गरिएको थियो ।

विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि धुमधामका साथ बुद्धजयन्ती मनाइएको महावाणिज्यदूतावासले जनाएको छ । र्‍यालीमार्फत भगवान् गौतम बुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गरिएको तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशसमेत प्रवाहित गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया