सहकारीसम्बन्धी छानबिन समितिको कार्यादेश बनाउने कार्यदल बैठक भोलि फेरि बस्ने

  जेठ ११, २०८१

काठमाडौँ, ११ जेठ : सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन आज बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ ।

कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भएपनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ विभिन्न विषयमा आज पनि छलफल भयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका विषयमा पनि थप छलफल आवश्यक देखियो । आज उहाँहरुले थप लचकता देखाउनुभएको छ ।”

विगतमा उहाँहरुले ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै उहाँले बैठक अन्त्य नभएको र केही समयपछि पुनः बैठक बस्ने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सदनको बैठक नियमित रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कार्यदलको बैठक नटुङ्गिएको जानकारी दिँदै आजै पुनः छलफल गरेर सहमति नै हुने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अपचलन भएकाको हकमा उल्लेख गर्ने तर व्यक्तिलाई नै दोषी देखाएर जाने कुरा गलत रहेको धारणा राख्नुभएको ।

प्रमुख राजनीतिक दलले गठन गरेको कार्यदलमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सह-महामन्त्री एवं सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया