राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : गुरुङ

  जेठ १०, २०८१

मनहरी, १० जेठ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राख्नुभयो ।

उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताउनुभयो । “कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ । त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो ।

समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले बौद्धिक व्यक्तित्व रहेको समाजले देशमा संकट छाएको बेला उल्लेख्य भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजका बागमती प्रदेश अध्यक्ष भरत दवाडीले विधिको शासन जोगाउन विचार समाज स्थापना भएकाले सोहीअनुसार क्रियाशील हुनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगरका पूर्वसभापति आनन्दराम पराजुलीलगायतले आफ्नो विचार राख्नुभएको थियो ।

सोही अवसरमा प्रजातान्त्रिक सेनानी सम्मानबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया