कञ्चन क्याम्पसका विद्यार्थीलाई दुनाटपरी बनाउन तालिम

  जेठ १०, २०८१

कञ्चनपुर, १० जेठ : कृष्णपुर नगरपालिका–५ गुलरीयामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरु दुनाटपरी बनाउने कार्यमा निपुण भएका छन् । विद्यार्थीहरुले दुई दिने तालिम लिएर दुनाटपरी बनाउने सीप सिकेका हुन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक वन समन्वय समितिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ ।

बुधबार र बिहीबार गरी दुई दिन जीवन उपयोगी शिक्षाका लागि तालिम प्रदान गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो । “प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि विद्यार्थीलाई सीप सिकाएका छौँ”, उहाँले भन्नुभयो, “तालिममा सहभागी ६० बढी विद्यार्थीले दुनापटरी बनाउने सीप सिकेका छन् ।”

तालिमका क्रममा सिकेको सीपलाई व्यवहारमा उतारी आयआर्जन गर्ने योजना रहेको तालिममा सहभागी विद्यार्थी सङ्गीता चौधरीले बताउनुभयो । “दुनाटपरीको प्रयोगले वातावरणलाई बिगार्दैन” उहाँले भन्नुभयो, “वन क्षेत्रमा निःशुल्क रुपमा सालाका पात पाइने गरेका छन, खेर गइरहेका पातहरुको प्रयोग गरी दुनाटपरी निर्माण गरी बिक्री गरेर आएको पैशाले क्याम्पसको खर्च धान्न सकिन्छ, अभिभावकसँग सधैं पकेट मनी, शैक्षिक सामग्री खरिदका लागि पैशा माग्न हात थाप्नु पर्दैन ।”

सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य रहनुभएका जोशी स्थानीयस्तरमै निर्माण हुने दुनाटपरीको बजार प्रवर्द्धनमा जुट्नु भएको छ । “दुनाटपरीको प्रयोग सुदूरपश्चिममा वर्षौदेखि हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवसायीकरण गर्न नसक्दा स्थानय बासिन्दाको आयस्तरमाथि उठाउन सकिएको छैन ।” विवाह, ब्रतबन्ध, भोगभतेर, धार्मिक अनुष्ठानलगायत कार्यमा दुनाटपरीको प्रयोग हुँदै आएको छ ।”

वन क्षेत्रम खेर जाने र डढेलो लागेर जलेर वर्षेनी नष्ट हुने सालका पातलाई सदुपयोग गरी आयआर्जनको माध्यमबाट जीविका धान्ने साधन बनाउनका लागि कार्य अगाडि बढाइएको पूर्वप्रदेशसभा सदस्य जोशीको भनाइ छ । सामुदायिक वनमा आबद्ध महिला दुनाटपरी बनाउने कार्यमा संलग्न रहेको उल्लेख गर्नुहँुदै उहाँले विद्यार्थीलाई दुनापटरीको महत्व दर्शाउने कार्यसँगै सीप सिकाएर दक्ष पारिएको बताउनुभयो ।

“दुनाटपरीको प्रयोगले प्लाष्टिक जस्तो प्रदूषण गर्दैन, कुहेर जान्छ”, उहाँले भन्नुभयो, “बोक्न पनि सजिलो छ, सस्तो छ, वातावरण संरक्षणमा टेवा पुग्छ ।” “गाउँमा उत्पादन भएका दुनाटपरीलगायत सामग्री सहर बजारमा पु¥याएर बेच्नका लागि सहर गाउँ जोड्न चाहान्छौंँ, त्यसैले बजारको खोजतलास गर्दै काठमाडौँ, पोखरासम्म दुनाटपरीको महत्व बुझाउँदै पुगेका छौंँ”, उहाँले भन्नुभयो ।

सामुदायिक वनका दुई सय बढी महिलालाई दुनाटपरी उद्योगमा संलग्न गराइ रोजगारी दिने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया