सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री

  जेठ ०९, २०८१

लुम्बिनी, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ ।

२५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताउनुभयो । “बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।”

लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिकस्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ ।”

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताउनुभयो । नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गर्नुभयो । “हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।”

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीनकालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पार्नुभयो । “हाम्रा जनताको आकाङ्क्षाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उपलब्ध अवसरहरूका सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीका लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।”

blog

तपाईको प्रतिक्रिया