काठमाडौँ, ९ जेठ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै इसारामा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सञ्चारमाध्यमहरूले प्रेस ऐक्यबद्धता जनाएका छन् ।
मिडिया अलायन्स नेपाल र मिडिया सोसाइटीमा आबद्ध दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै ‘तथ्य डग्दैन, कलम झुक्दैन’ भन्दै प्रेस ऐक्यबद्धता जनाएका हुन् । विशेष घटनाका बेला सम्पादकीय र विशेष सम्पादकीय लेख्ने ठाउँमा पत्रिकाहरूले बुधबार प्रेस ऐक्यबद्धता जनाएका हुन् ।
त्यस्तै दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै अध्यक्ष सिरोहिया पक्राउ घटनालाई प्रमुखताका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स, राजधानी, नेपाल समाचार पत्र, मध्याह्न दैनिक, आर्थिक अभियान दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिकलगायतका पहिलो पृष्ठमा प्रेस ऐक्यबद्धता जनाउने सामग्री छापिएका छन् ।
अन्नपूर्ण पोस्टले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै बुधबारको ‘कभर स्टोरी’ बनाएको छ । अन्नपूर्णले पहिलो पृष्ठमा ‘प्रतिशोधपूर्ण पक्राउ : सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे निरन्तर लेखिरहेको कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै गिरफ्तार’ शीर्षकमा आजको ‘कभर स्टोरी’ लेखेको छ ।
हिमालय टाइम्स दैनिकले पहिलो पृष्ठमा ‘कान्तिपुरमा अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ : लोकतन्त्र अधिनायकवादमा परिणत भएको प्रतिक्रिया’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै हिमालय टाइम्सले पृष्ठ ६ मा ‘प्रेसविरोधी सरकारविरुद्ध’ शीर्षकमा विशेष सम्पादकीय भन्दै कालो पोतेको छ ।






